२०८३ साउन २१ गते बिहीबार

सांसद विन्दुकुमारको तलबभत्ता सामाजिक काममा

सांसद विन्दुकुमारको तलबभत्ता सामाजिक काममा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २७ गते शनिबार ०३:१०

गतवर्षको पुस २५ गतेदेखि हालसम्म ११ लाख १२ हजार ६०५ रुपैयाँ सहयोग गरेको थापाले जानकारी दिए ।

पोखरा

गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले तलबभत्ता सामाजिक काममा सहयोग गरेका छन् ।

कास्की २ ‘ख’ बाट निर्वाचित उनले दोस्रो कार्यकालमा आफ्नो खातामा जम्मा भएको तलब भत्ता मतदाताको घरमा खानेपानीको धारा जडानदेखि रोगले थलिएर उपचारमा समस्या भएका विपन्नको वर्गलाई सहयोग गरेका हुन् ।

गतवर्षको पुस २५ गतेदेखि हालसम्म ११ लाख १२ हजार ६०५ रुपैयाँ सहयोग गरेको थापाले जानकारी दिए ।

उनका अनुुसार प्रदेश सभा सचिवालयले उनको खातामा तलब भत्ता र अन्य सुविधा गरेर ८ लाख ९६ हजार १६० रुपैयाँ जम्मा गरिदिएको थियो ।

प्रदेश सभाबाट आफ्नो खातामा जम्मा भएको रकममा थप गरेर सहयोग गरेको बताए ।

गण्डकीका सांसदले मासिक ५२ हजार २०० रुपैयाँ तलबवापत प्राप्त गर्छन् । बैठक भत्तादेखि दशैं भत्तासम्म सांसदले बुझ्ने गर्छन् ।

विन्दुकुमारले सामुदायीक भवन, सडक निर्माण, सडकबत्ती जडान, खानेपानीको धारा जडान, विद्यालयको बस खरिद, खेलकुद प्रतियोगिता, तालिम र दीर्घ रोगका बिरामीलाई तलब भत्ताबाट आएको रकम वितरण गरेको जानकारी दिए । थापाले जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पबाट प्रभावितका लागि ३७ हजार १०५ रुपैयाँ सहयोग गरेको उल्लेख छ ।

अघिल्लो कार्यकालमै उम्मेदवारी दिनुअघि गरेको घोषणालाई निरन्तरता दिएको थापा बताउँछन् ।

‘मैले अघिल्लो कार्यकालको उम्मेदवारी दिनुअगावै राज्यबाट प्राप्त सेवा सुविधा जनसेवामा नै खर्चने घोषणा गरेको थिए । जुन घोषणालाई अघिल्लो र यो कार्यकालमा अक्षरशः पालना गरेको छु’, उनले भने ।

राज्यकोषको दोहन र दुरुपयोगबाट जनप्रतिनिधि टाढै रहनुपर्ने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले सुनाए । आगमी दिनमासमेत तलब भत्ता आफ्नो व्यक्तिगत काममा खर्च नगर्ने थापाले बताए ।

थापाको गण्डकी प्रदेश सभामा दोस्रो इनिङ्स हो । विन्दुकुमार यसअघि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारमा कानुन, सञ्चार तथा आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

कानुनमन्त्री हुँदा पनि सरकारी आवस प्रयोग नगरेको उनको भनाइ छ । प्रदेशको मन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरण उनलाई धनाढ्य नेताको रुपमा देखाएको थियो । उनी व्यवसायीसमेत हुन् ।

प्रकाशित मिति २०८० माघ २७ गते शनिबार ०३:१०
हजुरको प्रतिक्रिया