पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता अनुकुलका कानून निर्माणमा ढिलाई नगर्न संघीय सरकारलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले संविधानमा व्यवस्था गरेअनुसार संघीय सरकारले पर्याप्त कानून नबनाइदिँदा प्रदेश सरकारजस्तो भएर काम गर्न नसकेको दुखेसो गरे ।
शनिबारदेखि पोखरामा शुरु भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीयताअनुसार तीन तहको सरकार बनेपनि संघीय सरकारले समयमै कानून निर्माण नगरीदिँदा प्रदेश सरकारलाई काम गर्न अफ्ठ्यारो भइरहेको बताए ।
‘प्रदेश सरकारले अहिले पनि संघीयतासम्बन्धि कानून निर्माण गरी अधिकार हस्तान्तरण गर्न संघीय सरकारसँग लडाई गरिरहनुपरेको छ’, मुख्यमन्त्री पाण्डेको गुनासो छ ।
मुख्यमन्त्री पाण्डेले जग्गा प्राप्तीको अधिकार समेत आफूहरुले नपाएकाले सो सम्बन्धि काम गर्नसक्ने अवस्था नरहेको समेत बताए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल जग्गा तथा आवास विकास महासंघसँग मिलेर पोखरालाई वातावरणमैत्री व्यवस्थित शहरको रुपमा विकास गर्न चाहेको उल्लेख गरे । ‘पोखरालाई व्यवस्थित शहर बनाउनका लागि लगानीको अभाव हुन नदिने तर लगानीकर्ताहरुले वातावरण बिथोल्ने खालको गतिविधि गर्न दिदैनौं’, मेयर आचार्यले भने ।
पोखरालाई ग्रिन र क्लिन सहरको रुपमा विकास गर्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको उनले बताए ।
प्रकाशित मिति २०८० माघ २७ गते शनिबार ०३:३०




