पोखरा
१२ बुँदे घोषणा पत्र जारी गर्दै जिल्ला समन्वय समिति गण्डकी महासंघको गण्डकी प्रदेश भेला सकिएको छ ।
घोषणापत्रमा राष्ट्रिय सभाको निर्वाचनमा मताधिकारदेखि गाउँ तथा नगर सभाका सदस्यबाट जिल्ला समन्वय समिति निर्वाचित हुने व्यवस्था गर्न माग गरिएको छ ।
अनुगमनलाई प्रभावकारी बनाउन ल्याबको माग भेलाले गरेको छ । ‘जिल्ला समन्वय समितिको अनुगमन कार्यलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति सहित ल्याबको व्यवस्था गर्न संघ र प्रदेश सरकारलाई माग गर्दछौं’, घोषणापत्रको पहिलो बुँदामै भनिएको छ ।
संविधान संशोधन गरेर जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्य छनोटमा गाउँ र नगर सभाका सदस्यले मतादन गर्ने व्यवस्था मिलाउनुपर्ने माग छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले पनि मत हाल्ने व्यवस्था मिलाइदिन आग्रह गरिएको छ ।
संघीय सरकारले बनाउने ऐन, कानुन र कार्यविधिमा जिल्ला समन्वय समितिको राय लिन अनुरोध गरेको महासंघ गण्डकीका अध्यक्ष लिलाधर पौडेलले बताए ।
अनुगमन, सहजीकरण तथा समन्वय ऐन लगायत अन्य आवश्यक ऐन, कानुन तथा कार्यविधि निर्माणमा प्रदेश सरकारलाई आग्रह गरेको उनले जानकारी दिए ।
‘जिल्ला समन्वय समितिले तिनै तहका सरकारसंग समन्वय गरि जनजीविकाका सवालहरू सम्बोधनमा पहल गर्ने निर्णय भएको छ’, घोषणपत्रबारे जानकारी दिदै पौडेलले भने ।
घोषणपत्रमा मानव प्रबर्दन साझेदारी कार्यक्रममा जिल्ला समन्वय समितिको किटानी सिफारिसको आधारमा मात्रै पालिका छनोट गर्न, राष्ट्रिय योजना आयोगको सिफारिसमा हालै नेपाल सरकारले स्वीकृत दिएका योजना निर्धारण मापदण्ड बमोजिम एकल अधिकारको सुचिमा रहेका योजना संचालन गर्न प्रदेश सरकारले न्युनतम एक करोड भन्दा कमको योजना छनोट तथा बजेट बिनियोजन नगर्न समितिले सुझाव दिएको छ ।
गण्डकीका महत्वपूर्ण योजना बागलुङको ढोरपाटनस्थित उत्तरगंगा जलाशययुक्त बिद्युत परियोजना, कोरला त्रिवेणी सडक, पुष्पलाल मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी परियोजना, अधुरा, रुग्ण ९ वटा सडक, पूल, खानेपानी लगायतका कामलाई तीब्रता दिन माग गरेका छन् ।
बन्द रहेकोे गोरखकाली रबर उद्योग संचालनमा पहलकदमी लिन प्रदेश सरकारसमक्ष माग गरिएको छ ।
पोखरामा भेला भएएका गण्डकीका जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, समन्वय अधिकारीको भेलाले मानसिक अस्पताल सञ्चालन, पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नसमेत चासो दिएको छ ।
प्रकाशित मिति २०८० फागुन १ गते मंगलबार ०४:४३




