२०८३ साउन २१ गते बिहीबार

पोखराको भवन मापदण्डः ५ तला अग्ला भवनमा लिफ्ट अनिवार्य, भौर्गभिक परीक्षण गर्नैपर्ने

पोखराको भवन मापदण्डः ५ तला अग्ला भवनमा लिफ्ट अनिवार्य, भौर्गभिक परीक्षण गर्नैपर्ने

विनोद ढुंगाना

@Public 4K Tv

२०८० फागुन १४ गते सोमबार ०७:०१

भवन बनाउने स्थानको भौगर्भिक परीक्षण लगायतका प्राविधिक पक्षको विस्तृत अध्ययन गरि प्राविधिक समितिको सिफारिसमा महानगरपालिकाको पूर्व स्वीकृती लिएर मात्रै भवन निर्माण गर्नुपर्ने बाध्यकारी नियम बनाइएको छ ।

अन्डरग्राउण्ड पार्किङका लागि मात्रै

पोखरा

पोखरा महानगरपालिका क्षेत्रमा बन्ने १७ मिटर अग्ला घरमा लिफ्ट अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ । सोमबार मात्रै राजपत्रमा प्रकाशित पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८०ले अनिवार्य लिफ्टको व्यवस्था गरेको हो ।

‘१७ मिटरभन्दा बढी उचाई या पाँच तला भन्दा माथि भएको भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नु पर्नेछ’, मापदण्डमा उल्लेख छ ।

पाँच तल्ला (१७ मिटर) भन्दा अग्ला सबै प्रकारका भवन र सर्वसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङ होम, होटल, रिसोर्ट आदि भवन निर्माण गर्दा माटो परीक्षण गरेर संरचनात्मक योजना प्रतिवेदन पेश गर्नु नियम बनाइएको छ ।

राजपत्रमा प्रकाशित भएसँगै लागु भएको यो मापदण्डले तीन हजार वर्ग फिटभन्दा धेरै प्लिन्थको क्षेत्रफल भएका भवनको भौगर्भिक परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

भवन बनाउने स्थानको भौगर्भिक परीक्षण लगायतका प्राविधिक पक्षको विस्तृत अध्ययन गरि प्राविधिक समितिको सिफारिसमा महानगरपालिकाको पूर्व स्वीकृती लिएर मात्र्रै भवन निर्माण गर्नुपर्ने बाध्यकारी नियम बनाइएको छ ।

भवनको वरपर ४ फिटभन्दा अग्लो पर्खाल लगाउदाँ पनि संरचनात्मक योजना अनिवार्य पेश गर्नुपर्नेछ । मापदण्डमा भनिएको छ ‘सिमा पर्खाल निर्माण गर्दा पर्खालको उचाई बढिमा ४ फिट अग्लो गारो र त्यो भन्दा माथि जालि राख्नुपर्नेछ । उपयोगिताको आधारमा ४ फिट भन्दा अग्लो पर्खाल लगाउनु परेमा संरचनात्मक योजना अनिवार्य हुनेछ ।’
यो मापदण्डले जति धेरै जग्गाको क्षेत्रफल छ त्यति नै अग्ला भवन निर्माण बनाउन स्विकृती दिएको छ ।

वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ अनुसार अग्ला भवन बनाउन पाउने पोखरा महानगरपालिकाका घरनक्सा शाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरेन्द्र पौडेलले बताए । ‘वस्ती विकास निर्देशिका अनुसार सडकको क्षेत्रफल र भुँइ क्षेत्रको अनुपात  पुग्यो भने जति तलाको घर पनि बनाउन पाइन्छ’, उनले भने ।

व्यपारीक र आवसीय भवनको अधिकतम् ग्राउण्ड कभरेज (जमिनमा भवनले ओगटेको क्षेत्रफल) ७० प्रतिशत र भुँइ क्षेत्रको अनुपात ३.५ हुनुपर्ने मापदण्डमा तोकिएको छ । संयुक्त आवास भवन, अपार्टमेन्ट र होटलको अधिकतम् ग्राउण्ड कभरेज ५० प्रतिशत तोक्दा भुँइ क्षेत्रको अनुपात ४.० हुनुपर्ने उल्लेख छ ।

सुपरमार्केटका हकमा ग्राउण्ड कभरेज ५० प्रतिशत र भुँइ क्षेत्रको अनुपात ३.० हुनुपर्ने मापदण्डले तोकेको छ ।

शैक्षिक संस्था, अस्पताल नर्सिङ होम, पोलिक्लिनक लगायतको भवन निर्माण गर्दा अधिकतम् ग्राउण्ड कभरेज ५० प्रतिशत र भुँइ क्षेत्रको अनुपात २.५ मापदण्डले व्यवस्था गरेको छ ।

गैरआवसीय पाँच तला भन्दा अग्ला भवनसंग जोडिने मुख्य बाटोको चौडाई ६ मिटरभन्दा कम हुन नहुने उल्लेख छ । ‘प्लटको मूल प्रवेशद्वारको चौडाइ कम्तिमा ४.५ मिटर हुनुपर्नेछ र यस्तो ढोकाभित्रतर्फ खुल्ने किसिमको हुनुपर्नेछ । प्रवेशद्वार छोपिएको किसिमको भए त्यस्ता प्रवेशद्वारको न्यूनतम् खुलापन ४.५ मिटर हुनुपर्नेछ’, पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० मा उल्लेख छ ।

अन्डरग्राउण्ड पार्किङका लागि मात्रै

भुमिगत तलालाई आवास तथा अन्य प्रयोजनको निमित्त प्रयोग गर्न रोक लगाइएको छ । भूमिगत तला आवश्यकता अनुसार दुई तलासम्मकोे बनाउन पाइनेछ ।

‘भुमिगत तलालाई पार्किङको रुपमा प्रयोग गर्नुपर्नेछ’, महानगरले बनाएको मापदण्डले तोकेको छ । पोखरा महानगरपालिकामा धनराज आचार्य निर्वाचित भएर आएपछि अन्डरग्राउण्ड (भुँइ तला) पार्किङकै लागि प्रयोग गर्नुपर्ने भन्दै डोजर लिएर हिँडेका थिए । केही भवन कोतरेर चेतावनी दिदैं हिँडेपनि अझैसम्म भुँइतल्ला पार्किङकै लागि अनिवार्य भएका छैन ।

कोत्रे–तालचोक–विययपुर–अमरसिंह–पृथ्वीचोक–जिरोकिलोमिटर हुँदै हल्लनचोक पुग्ने सडकसँगै जोेडिएर बनेका भवनमा अनिवार्य भुमिगत पार्कङ हुनुपर्नेछ । पृथ्वीचोक–मुस्ताङचोक–विरौटा हुँदै छोरेपाटन जाने सडक, पृथ्वीचोक—नयाँबजार—महेन्द्रपुल—पालिखेचोक—नदीपुर—केआईसिंहपुल—लामाचौर— बाटुलेचौरसम्म पनि भुमिगत पार्किङ अब बन्ने भवनमा चाहिनेछ ।

न्यूरोड, सिद्धार्थचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल चोकसम्म पनि यो मापदण्ड लागु हुनेछ । पोखराका मुख्य बजार क्षेत्रमा पुग्ने सडकसँगै जोडिएर बन्ने भवनले भुमीगत पार्किङ राख्नुपर्नेछ ।

मोहडाको हकमा २० हात र जग्गाको क्षेत्रफल ८ आना भन्दा बढी भएमा मात्र भुमीगत पार्किङ चाहिने उल्लेख छ । तोकिएका सडकहरुमा २ तला सम्मको स्टिलको भवन निर्माण गर्दा ५० प्रतिशत जिसिआर मात्र हुने गरी भुमिगत तला नभएता पनि महानगरले स्वीकृत दिनेछ ।

छानाको पानीको निकास गर्न उपयुक्त डुड, पाइपको व्यवस्था गरी जमिनमा छाडनु पर्नेछ । समतल वा स्लोप छानाबाट पानीको धारो हुने गरी बर्षातको खसाल्न नपाइने उल्लेख छ । यसअघि पनि महानगरले यो नियम लगाएको थियो । तर, कार्यन्वयन भने भएन । मुख्य बजार क्षेत्रमा भवनको छतबाट पाइप निकालेर बाहिरै पानी खसाल्दा बर्षातको समयमा पैदल यात्रुलाई सकस हुने गर्छ ।

प्रकाशित मिति २०८० फागुन १४ गते सोमबार ०७:०१
हजुरको प्रतिक्रिया