सेतीमा माछा मार्ने क्रममा सिम्पानीका मानबहादुर सम्पर्कविहीन छन्
पाेखरा
माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति खोज्न सेती नदीको बाँध खोलेर खोजी गर्दा पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन भएका थिए ।
उनको खोजीका लागि पोखरा १, दीपमा रहेको सेती सिंचाइ बाँध बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म खोलिएको थियो ।
साँझसम्म खोजी गर्दा पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
उनको अनुसार खोजी कार्य भने अझै जारी छ ।
दिनदिनै सेती बाँध खोल्न समस्या हुने र सम्भव पनि नभएकाले शुक्रबार भने बाँध नखोलिने प्रहरी निरीक्षक रानाले जानकारी दिए ।
तामाङ सम्पर्कविहीन भएको भोलिपल्ट फागुन १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि सेती बाँध खोलिएको थियो ।
पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा १४ गते पोखरा १, कसेरीका गंगा तामाङ मृत फेला परेका थिए ।
सँगै माछा मार्न गएका ५ जनामध्य तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।
प्रकाशित मिति २०८० फागुन १७ गते बिहीबार ०८:१८




