कानुनमा पदम गिरी, पर्यटनमा हितबहादुर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
बुधबार उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्रीले सोमबार शपथ लिएका ३ जना मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् ।
सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनेछन् ।
त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन् ।
त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन् ।
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् ।
शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।
नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् ।
पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् ।
जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।
उनीहरुको नाम समेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको कार्यालयको भनाई छ । योसँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ ।
पद तथा गोपनीयताको शपथ लिन बाँकी मन्त्रीहरुले बुधबार लिनेछन् ।
कुन पार्टीबाट को भए मन्त्री?
नेकपा एमाले
१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
२. राजेन्द्रकुमार राई, मन्त्री खानेपानी
३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री
४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
७. हरि उप्रेती, रक्षा मन्त्री
८. ज्वालाकुमारी साह, कृषि मन्त्री
नेकपा (माओवादी केन्द्र)
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री
२. वर्षमान पुन, अर्थमन्त्री
३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री
५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी
१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री
२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री
४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
नेकपा एकीकृत समाजवादी
१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
२. धनबहादुर बुढा, सहरी विकास
प्रकाशित मिति २०८० फागुन २३ गते बुधबार ०६:५३




