नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आम नागरिकले महशुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोज्नुपरेको बताका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेलगत्तै बुधबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पारे ।
उनले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महसुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका गृहमन्त्रालय राेजेकाे दाबी गरे ।
आफ्नो कुनैपनि दबाब र प्रभावमा नपरी कानुनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशनसमेत दिए ।
‘कानुनका पालना गर्ने हाम्रो जिम्मेवारी हो । कुनैपनि राजनीतिक दलको होस, कुनैपनि अन्य प्रभावशाली संस्थाहरुको कसैको पनि इलिगल अडर्सलाई गृह मन्त्रालयले टेर्दैन भन्ने कुराको स्पष्ट मासेज यस पटक दिनुपर्नेछ’, नवनियुक्त गृहमन्त्री लामिछानेले भने, ‘ मेरो स्पष्ट निर्देशन यहाँहरुलाई यही नै हो कि कानुनले जे भन्छ, त्यही हुन्छ ।’
लामिछानेले अगाडि भने, ‘अपराधको अनुसन्धानमा काहीकर्त कसैमाथि शक्तिको दुरुपयोग गरेर गलत क्रियाकलाप हुन नदिने र कसैले गलत गरेको छ भने त्यसका लागि कसैको अनुमति लिन नपर्ने र नागरिकले देशमा शान्ति सुरक्षा छ भन्ने कुराको महसुस गर्न पाउने वातावरणको सृजना गर्ने एउटा महत्वपूर्ण जिम्मेवारी हामी सबैको छ । मेरो तर्फबाट यो जिम्मेवारी पूरा गर्दाखेरि कुनै पनि किसिमको दवाव र प्रभाव तपाईंहरुलाई हुनेछैन ।’
प्रकाशित मिति २०८० फागुन २४ गते बिहीबार ११:४९




