काठमाडौं ।
स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।
पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको हो ।
उपनिर्वाचनको मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त भएका पदमा उपनिर्वाचन गर्न सकिने उनले बताए ।
पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेशको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन भएको छ ।
आयोगका अनुसार जिल्ला समन्वय समितिको प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त छन् ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक एक पद रिक्त छन् ।
निर्वाचन आयोगले रिक्त रहेका यी दुवै पदको उपनिर्वाचन वैशाख १५ गते हुने घोषणा गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरिसकेको छ ।
स्थानीय तहमा रिक्त रहेको पदको उपनिर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले घोषणा गर्ने कानुनी व्यवस्था छ ।
सरकारले उपनिर्वाचनको मिति तय गरिसकेको छैन ।
प्रकाशित मिति २०८० फागुन २६ गते शनिबार १०:१८




