काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदैछन् ।
नेपाली कांँग्रेससंगको गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भएको छ ।
मन्त्रिपरिषदमा हेरफेरसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनु परेको हो ।
आज बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएपछि सभामुख घिमिरेले विश्वासको मत लिने प्रक्रिया अघि बढाउने छन् ।
संसदमा प्रधानमन्त्री दाहालले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।
गतवर्ष पुस २६ गते र चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलहरु एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरिसकेका छन् ।
कुल २ सय ७५ सदस्य रहेको संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १ सय ३८ मतको आवश्यकता पर्छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विपक्षमा मत दिने भएको छ ।
प्रकाशित मिति २०८० फागुन ३० गते बुधबार १०:१५




