२०८३ साउन २१ गते बिहीबार

पोखरा बन्यो पर्यटनको राजधानी

पोखरा बन्यो पर्यटनको राजधानी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ४ गते आइतबार ०५:२७

४३ वटा मापदण्डभित्र रहेर पोखराका मुख्य पर्यटकीय क्षेत्र २४ सैं घण्टा खुला रहनेछन् ।

देशको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ

पोखरा

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएसँगै अब २४ सैं घण्टा पोखरा जागा रहनेछ ।

पोखरालाई पर्यटनको राजधानी घोषणपूर्व लेकसाइडस्थित फेवातालको किनार कोमागाने पार्कदेखि बाराहीघाटसम्म विशाल ¥याली निकालिएको थियो । पोखरेली पर्यटन व्यवसायीदेखि जनप्रतिनिधि, कर्मचारी र सर्वसाधरण उत्साहपूर्वक ¥यालीमा सहभागी बने । पोखराको कला संस्कृतिले झल्कने ¥यालिले लेकसाइडको सडकमा रौनक थप्यो ।

बाराहीघाटमा भएको औपचारिक कार्यक्रममा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी अंकित लोगो सार्वजनिक गरे । स्मृति स्तम्भको अनावरण गरे । त्यसपछि पोखरालाई पर्यटकको राजधानी घोषणा गरे, ‘प्राकृतिक, साँस्कृतिक तथा साहसिक क्षेत्रको अद्धित्तीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु ।’

प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै गण्डकी प्रदेश र सिंगो देशको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताए । विश्व पर्यटन बजारमा पोखराकोे ब्रान्डिङ हुने उनकोे तर्क छ ।

‘विश्वकै पर्यटन बजारमा पोखराकोे ब्रान्डिङ गर्ने, पर्यटन बजारको पहुँच विस्तार गर्ने, लगानीकर्तालाई अनुकुल वातावरण सिर्जना गर्न र यस क्षेत्रकोे जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्वपूर्ण योगदान पुग्नेछ’, उनले भने । पर्यटकीय राजधानी घोषणाले मात्रै नहुने भएकाले नीतिगत सुधारमा सबैको भूमिका रहने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

पोखरा विशेष सम्भावनाले भरिएको सहरको रुपमा उनले चित्रित गरे । नदी, हिमश्रृंखलाहरु, तालतलैया, मठमन्दिर गुम्बा, मस्जिद, छाँगाछहरा, गल्छीले पोखराको सुन्दरतालाई अनुपम तवरले सिंगारेको प्रचण्डले बताए । ‘यहाँको आर्थिक विकास, आत्मनिर्भरता, साँस्कृतिक वैभव, राष्ट्रिय संस्कृति एवम ऐतिहासिक पहिचान र जनसम्बन्धमा गुरुत्वपूर्ण योगदान पु¥याएको छ’, उनले भने ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्न समिति गठन भएको थियोे । मंसिर दोस्रो साता गठन भएको समितिमा पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, विज्ञसहित ११ सदस्य थिए ।

समितिले बुझाएको प्रतिवेदनको आधारमा पर्यटन राजधानी घोषणा गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । फागुन २३ गते बसेको मन्त्रीपरिषद् बैठकले गण्डकीलाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय लिएको उनले जानकारी दिए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटमा पर्यटन क्षेत्रलाई समुन्नतीको मुख्य आधार मानेको मुख्यमन्त्री पाण्डे बताउँछन् । उनी भन्छन्, ‘पर्यटन क्षेत्रको दिगो विकास र व्यवस्थापनमार्फत प्रादेशिक अर्थतन्त्रको दिगो आधारशिला तयार पार्न प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।’ पोखरा पर्यटकीय गतिविधीको आधारमा पनि अग्रस्थानमा रहेको उनको दाबी थियो ।

पर्यटकीय राजधानी घोषणाको माग गर्दै पाँच वर्षअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारले पहिलोपटक संघीय सरकारको मन्त्रिपरिषद्लाई पत्राचार गरेको थियो । गुरुङ नेतृत्वको सरकारले पोखराको लेकसाइड क्षेत्रलाई ‘इञ्जोय जोन’ को प्रस्ताव गरेपछि वहस चर्किएको थियो ।

त्यसपछिका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको २०७८ कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटन राजधानी घोषणाका गर्न संघ सरकारलाई अनुरोध गर्ने निर्णय ग¥यो । अध्ययन र पूर्वाधार बिनानै पर्यटन राजधानी घोषणा गर्न संघ सरकारले चासो देखाएन ।

अहिले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने अनुरोध प्रधानमन्त्री स्वयम उपस्थित भएर अनुमोदन गरिदिएका छन् ।

योसंगै अब पोखरा २४ सैं घण्टा खुला रहने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । ‘आजैदेखि निश्चित मापदण्ड र कार्यविधिको आधारमा पोखरा २४ सैं घण्टा खुला गरिएको छ’, उनले भने ।

शनिबार कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैैठकले ४३ वटा मापदण्ड तय गरेर पोखराका मुख्य पर्यटकीय क्षेत्र २४ घण्टा खुला रहने व्यवस्था मिलाइएको होे । अबको हप्तादिनमा यातायात तथा ट्राफिक सुधार योजना कार्यन्वयनमा आउने मेयर आचार्यले बताए ।

संघ, प्रदेश र स्थानीय तहले आगमी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले उच्च प्राथमिकता पाउने उनको भनाइ थियो । पोखरामा आन्तरकि र बाह्य लगानीको वातावरण बन्नेमा मेयर आचार्य विश्वस्त सुनिए ।

पोखरालाई पर्यटन राजधानी घोषणाको अवसरमा ब्रान्डिङमा सघाएका ३ जनालाई सम्मान गरिएको छ । २०३९ सालमा प्रकाशित मदन पुरस्कार विजेता कृति ‘प्राकृत पोखरा’ का लेखक, भाषाविद् प्राध्यापक डा. मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङ र सुप्रसिद्ध गायक, संगीतकार तथा साहित्यकार स्वर्गीय प्रेमप्रकाश मल्ल ‘मधुकर’ लाई मरणोपरान्त सम्मान गरिएको छ । तीनै जनाले स्वर्गसरी पोखरालाई शब्दमा उतारेर पर्यटन प्रबद्र्धनमा सघाएको भन्दै सम्मान गरिएको हो ।

पर्यटन राजधानी घोषणा कार्यक्रम पोखरेली गीतसंगीतमा पनि झुमे । गायक प्रमोद खरेलले ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा’, धर्मेन्द्र सेवनले ‘रेशम फिरिरी’, प्रकाश सपुतले ‘माकुर माकुर घुर’, ‘गलबन्दी च्यातियो’ गीत गुञ्जाए । ‘गलबन्दी च्यातियो’ गुञ्जिदा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पुर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकीका सभामुख कृष्णप्रसाद धिताल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कम्मर मर्काउँदै नाँचे ।

जीवन दाहालले रचना गरेको गीत ‘जाउ है पोखरा, आउ है पोखरा’ गुञ्जाउदै गीतमार्फत पोखरा घुम्न आउन पर्यटक डाकियो ।

‘माछापुच्छ«े हिमालको फेवातालमा छाया
सागरभन्दा गहिरो छ पोखरेलीको माया…’

प्रकाशित मिति २०८० चैत ४ गते आइतबार ०५:२७

हजुरको प्रतिक्रिया