२०८३ असोज २५ गते आइतबार

दीपक मनाङे बने गण्डकीको भौतिक पूर्वाधार मन्त्री

दीपक मनाङे बने गण्डकीको भौतिक पूर्वाधार मन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ५ गते सोमबार ०२:१४

मुख्यमन्त्री कार्यालयले दिएको जानकारी अनुसार कृषि तथा भूमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।

पोखरा

नेकपा एकीकृत समाजवादी परित्याग गरी स्वतन्त्र सांसदको हैसियत मागेको भोलिपल्ट नै राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशको भौतिक पूर्वाधार यातायात व्यवस्थामन्त्री बनेका छन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री मनाङेको सपथ साढे ३ बजे तय भएको छ । मुख्यमन्त्री कार्यालयले दिएको जानकारी अनुसार कृषि तथा भूमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।

मनाङे चौथों पटक मन्त्री बनेका हुन् । यसअघि उनी एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एक पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । पृथ्वीसुब्बा गुरुङको सरकार ढालेर कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउन मनाङे ‘किङ मेकर’ बनेका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै मुख्यमन्त्री पाण्डेले माओवादीबाट सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालिलाई बर्खास्त गरेर आफू मातहात मन्त्रालय राखेका थिए ।

त्यसैको भोलिपल्ट फागुन २३ गते माओवादी केन्द्रले पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसको ३० दिनभित्र पाण्डेले विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्री पाण्डे बहुमत जुटाउन प्रयासरत रहेका छन् । उनले राप्रपालाई फकाइरहेका छन् । छुट्टै दलको मान्यता खोजिरहेको बाबुराम भट्टराई नेतृत्वको नेसपाको फडिन्द्र देवकोटाको पनि मुख्यमन्त्री पाण्डेलाई आश छ । स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले यो विषयमा बाबुराम भट्टराईसँग पनि कुराकानी गरेका छन् । देवकोटा फागुन २३ गते बसेको माओवादी संसदीय दलको बैठकमा अनुपस्थित भएका थिए ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (फडिन्द्र देवकोटासहित), राप्रपा २ र स्वतन्त्र दीपक मनाङे सांसद छन् । माओवादी केन्द्रका कृष्णप्रसाद धिताल गण्डकी प्रदेश सभाको सभामुख छन् ।

प्रकाशित मिति २०८० चैत ५ गते सोमबार ०२:१४
हजुरको प्रतिक्रिया