२०८३ साउन २१ गते बिहीबार

प्रचण्डको धोकाले काँग्रेसलाई शसक्त हुने मौकाः उपसभापति खड्का

प्रचण्डको धोकाले काँग्रेसलाई शसक्त हुने मौकाः उपसभापति खड्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १० गते शनिबार ०७:५०

प्रचण्डले धोका दिएर कांग्रेस माओवादीबीचको गठबन्धन टुटेको उनले बताए ।

पोखरा
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाज भन्दै टिप्पणी गरेका छन् ।

प्रचण्डले धोका दिएर कांग्रेस माओवादीबीचको गठबन्धन टुटेको उनले बताए । शनिबार पोखरामा नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै खड्काले गठबन्धन टुट्नुको रहस्य विस्तारै खुल्दै जाने बताए ।

गठबन्धन भत्किएर नेपाली कांग्रेसको अभियानलाई सशक्त बनाउने बाटो खुलेको उनको दाबी छ । नेपाली कांग्रेसको सांगठनिक अभियानलाई अझ अब्बल भएर अगाडी बढ्ने परिवेशको निर्माण हुने खड्काले बताए । जसले गर्दा अहिले भन्दा बढी मत पाउने उनको विश्वास छ । सरकारमा नभएपछि कुनैपनि अलमलमा पर्न नपर्ने उनको भनाइ थियो ।

प्रतिपक्षमै बसेर पनि संघीयतालाई बलियो बनाउन काममा नेपाली कांग्रेस अग्रसर हुने पूर्वउपप्रधानमन्त्रीसमेत रहेका खड्काले सुुनाए । कांग्रेस सरकारमा रहँदा संघीयतालाई बल पुग्ने ऐन कानुन निर्माणमा जोड दिएको उनको दाबी छ । संविधान सबैको पार्टीको दस्ताबेज भएकाले कसैले पनि बिर्सन नहुने उनको तर्क छ ।

पोखराको सभागृहमा अधिवेशन सुरु हुनुपूर्व चिप्लेढुंगाको मानवअधिकारचोकबाट साँस्कृति ¥यालि निकालिएको थियो । र्‍यालीमा गण्डकी प्रदेशका ११ जिल्लामै आदिवासी जनजाती समुदायमा प्रचलित कला संस्कृति झल्काइएको थियो ।

अधिवेशनमा गण्डकीका सबै जिल्लाबाट ३७८ जना प्रतिनिधि सहभागी छन् । ३९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिनेछ ।

प्रकाशित मिति २०८० चैत १० गते शनिबार ०७:५०
हजुरको प्रतिक्रिया