एलएलसी दिन नपाएका १ सय १८ जनाले दिए एसईई परीक्षा
पाेखरा
कास्की र गण्डकी प्रदेशसहित देशैभरि आज बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सकिएको छ ।
कास्कीमा दृष्टिबिहीन ५ जना, बाहिरा विद्यार्थीहरु १६ जनाले परीक्षा दिएका छन् । कास्कीमा सामुदायिक र संस्थागत गरी २ सय ८५ वटा विद्यालयका १० हजार १ सय ७४ जना विद्यार्थी एसईईमा सरिक भएको जिल्ला शिक्षा समन्वय अधिकारी लोकनाथ आचार्यले जानकारी दिए ।
पोखराको गण्डकी बोर्डिङ स्कुलका एक जना विद्यार्थीले भने आफ्नो अप्रेसनका कारण परीक्षामा सहभागी हुनबाट बञ्चित हुन पुगेका छन् । उनको परिवारले अस्पतालबाटै परीक्षा दिने व्यवस्था मिलाउन आग्रह गरे पनि शिक्षा समन्वय कार्यालयले नमिल्ने बताएको थियो ।
कास्कीमा विभिन्न कारणले एसएलसी दिन नपाएका, धेरै वर्षअघि दिएका वा छुटेका १ सय १८ जनाले खुला विद्यालय अन्तर्गत एसईई परीक्षामा सहभागी भएका छन् ।
परीक्षाका लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । सबैभन्दा धेरै केन्द्र काठमाडौंमा १ सय २७ र सबैभन्दा कम मनाङ र मुस्ताङमा (एक–एक) वटा छन् ।
गण्डकीमा ४१ हजार २ सय ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा ३ सय १ जना अनुस्थित रहेको जानकारी पाएको शिक्षा विकास निर्देशनालय पोखराका उपनिर्देशक घनश्याम पौडेलले जानकारी दिए ।
एसईई परीक्षाका लागि देशभर सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा सहभागी भएका छन् । यसैगरी २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीका लागि आवेदन दिएका थिए ।
विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।
प्रकाशित मिति २०८० चैत १५ गते बिहीबार ०४:५८




