पोखरा
नयाँ वर्षको छेकोमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सवको आयोजना गरेको हो ।
चैत २७ देखि ३० गतेसम्म घान्द्रुकको मेश्रम बराहमा माविमा पर्यटन महोत्सव चल्नेछ । सबै मौसममा घान्द्रुक घुम्न उपयुक्त रहेको सन्देश दिनलाई महोत्सव आयोजना गरेको संयोजक अमृत लामा गुरुङले बताए ।
महोत्सवमा साँस्कृतिक र खेलकुदका गतिविधि हुने उनले जानकारी दिए । गुरुङका अनुसार भलिबल, बास्केटबल, घोडा दौड, चक्रीय पदमार्गमा दौड, छेलो प्रतियोगितासँगै ह्विलचिर बास्केटबल पनि हुनेछ ।
पुरुषतर्फ भलिबलको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ७० हजार प्राप्त गर्नेछ । महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ हात पार्नेछन् ।
खुला बास्केटबलको उपाधि विजेतालाई १ लाख र उपविजेतलाई ६० हजार रुपैयाँ प्रदान गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।
घोडा दौडको विजेताले ५५ हजार ५५५ रुपैयाँ जित्नेछ । दोस्रो र तेस्रोले क्रमशः २७ हजार ७७७ र ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् । ९.५ किलोमिटर दूरीमा घोडा दौड हुनेछ ।
यस्तै, ५.५ किलोमिटरको दूरीमा हुने चक्रिय पदमार्ग दौडको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।
पर्यटन महोत्सवले घान्द्रुकको पर्यटनलाई उचाईमा पु¥याउने विश्वास गरिएको छ ।
नयाँ वर्षको छेकोमा हुन लागेको महोत्सव अविधिभर घान्द्रुक पुग्ने पर्यटकले छुट पाउने छन् । ३ दिन घान्द्रुक आउने पर्यटकलाई ३० प्रतिशत छुटको व्यवस्था गरेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । गुरुङका अनुसार प्रतियोगितामा सहभागी हुन जाने खेलाडीका लागि ६ सय रुपैयाँको प्याकेज उपलब्ध हुनेछ । घान्द्रुुकमा सञ्चालित ८५ बढी होटल र होमस्टेमा छुटको व्यवस्था रहेको उनको भनाइ छ ।
गुजुमुज्ज परेको ढुंगेनी वस्ती घान्द्रुक पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको गन्तव्य हो । सन् १९५० ताका फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखरमा पाइला टेकपछि घान्द्रुकमा विदेशी पर्यटक उक्लन थालेका हुन् । सडक पुगेसँगै घान्द्रुकले आन्तरिक पर्यटकलाई बढी अतिथि सत्कार टक्राइरहेको छ ।
प्रकाशित मिति २०८० चैत १५ गते बिहीबार ०६:०९




