बागलुङ
मध्यपहाडी लोकमार्ग अन्र्तगत पश्चिम बागलुङको व्यापारिक क्षेत्र बुर्तिबाङ बजारमा निर्माण भइरहेको बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । बडिगाड खोलाको किनारमा बसपार्क निर्माण भइरहेको छ ।
बुर्तिबाङ बजारमा रहेको पुरानो बसपार्कको विकल्पमा नयाँ सहर आयोजनाले ढोरपाटन नगरपालिका–२ खप्तरीबाङस्थित बडिगाडखोलाको किनारमा बसपार्क निर्माण गरेको हो । २०६८ सालदेखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाई गर्दा बसपार्क निर्माण गत वर्षदेखि मात्र बल्ल सुरु भएको हो ।
बसपार्कको लागि २०७५ सालमा ६ रोपनी जग्गा खरिद गरिएको थियो । २०८० असार १५ गतेसम्म बसपार्क निर्माण सम्पन्न गर्ने गरि अघिल्लो वर्ष कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका सूचना अधिकारी कमल शाहले जानकारी दिए । गोरखनाथ कन्ट्रक्सन एण्ड मर चेन्टा ईजर प्रालिले निमार्ण गर्दै आएको बसपार्कको काम ९५ प्रतिशत सम्पन्न भएको उनले बताए ।
बसपार्कको लागि आर्थिक वर्ष २०७९÷८० मा दुई करोड २६ लाख ४० हजार चार सय ३१ रुपैयाँमा विनियोजित भएको उनले जानकारी दिए । पार्किङका लागि ढलान, गेट निर्माण, टर्मिनल भवनको फिनिसिङ लगायतका काम बाँकी रहेको शाहले बताए ।
बसपार्कमा साना ठूला ३० वटा जीप, २० वटा बस र दईपांग्रे दर्जनौँ सवारी साधान अट्ने उनले बताए । बसपार्क खोला किनारमा हुँदा बर्खाको समयमा बाढीले बसपार्कसहित यातायताका साधन समेत बगाउने जोखिम भने देखिन्छ ।
प्रकाशित मिति २०८० चैत २२ गते बिहीबार ०६:४८




