पोखरा ।
आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश, विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ ।
नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन ।
विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।
यस्तै आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाईसँग भेटघाट गर्दै मिस्ठान्न भोजन बनाएर खाने चलन छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ ।
यसैबीच नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।
प्रकाशित मिति २०८१ वैशाख १ गते शनिबार १०:१९




