पोखरा
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले बैशाख ७ गतेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
शुक्रबार दिउँसो ३ बजे प्रदेश सभा भवन नदीपूरमा बैठक बस्नेछ । मन्त्रीपरिषद् बैठकको सिफारिसमा विशेष अधिवेशन डाकिएको हो । मंगलबारको मन्त्रीपरिषद् बैठकले अधिवेशन आह्वानको निर्णय गरेकोे थियो ।
प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरेका छन् । फागुन २४ गते तत्कालिन प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।
फागुन २३ मा तत्कालिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि प्रदेशको हिउँदे अधिवेशन अन्त्यको सिफारिस भएको थियो । अल्पमतमा परेका पाण्डेले विश्वासको मत नलिइकन चैत २१ मा राजनीमा दिएका हुन् ।
संसदको अधिवशेन आह्वान भएपछि मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेश गर्नेछन् । मुख्यमन्त्री अधिकारी सर्वोच्च अदालतको सुनवाई अघि नै विश्वासको मत लिने तयारीमा जुटेका छन् ।
प्रदेश सभाका सभामुखलाईसमेत गणना गर्दैै मुख्यमन्त्रीमा दाबी पेश गरेका अधिकारीलाई प्रदेश प्रमुखले नियुत्त गरेपछि नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे चैत २७ गते सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्चले रिट दायर गरेको भोलिपल्ट मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालिन असर पर्ने काम नगर्न आदेश दिएको छ । रिटको पेशी बैशाख १० गतेलाई तोकिएको छ ।
बैशाख १० अगावै विश्वासको मत लिने तयारी भइरहेको गण्डकी प्रदेश सरकारका प्रवक्ता विनाविभागीय मन्त्री हरिबहादुर चुमानले बताए । कहिले विश्वासको मत लिने निर्णय गर्ने अधिकार मुख्यमन्त्रीलाई नै दिएको उनको भनाइ छ ।
प्रदेश प्रमुख भट्टले नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई चैत २५ गते मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुखसहित) र नेकपा एकीकृत समाजवादी पार्टीका राजिव गुरुङ (दीपक मनाङे) को समर्थनमा अधिकारी मुख्यमन्त्रत्री बनेका हुन् । तर, सभामुखको राजीनामाबिनै गणना गरेपछि प्रदेश प्रमुखले असंवैधानिक कदम चालेको भन्दै कांग्रेसले अदालत गुहारेको हो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पु¥याउन ३१ सांसद आवश्यक हुन्छ । नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भइ नेकपा एकीकृत समाजवादी पार्टी रोजेका १ सांसद छन् ।
प्रकाशित मिति २०८१ वैशाख ५ गते बुधबार ०५:०४




