पोखरा
नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन् । फोनिज गण्डकी तथा कास्की शाखाले आइतबार पोखरामा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा सल्लाहकार तमुले इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै नलेखिने बताएका हुन् ।
नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदान सन्दर्भमा आयोजित फोनिज संवाद कार्यक्रममा उनले कार्यक्रममा संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा बहस र संवादमार्फत टुंगो लगाउनुपर्नेमा जोड दिए । ‘सत्यनारायण बहादुर श्रेष्ठको विषयमा कुरा उठिरहँदा अन्य अग्रज व्यक्तित्वको अपमान भने गर्नु भएन । तर, सत्यतथ्यका आधारमा संस्थापक अध्यक्षको विषय टुंग्याउनुपर्छ,’ उनले भने ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले पत्रकार महासंघको महाधिवेशनले संस्थापकको विषय टुंगोमा पु¥याउन भूमिका खेल्ने बताइन् । यसका लागि फोनिजका सदस्यहरु चनाखो हुनुपर्नेमा उनको जोड थियो । यसका लागि आफूले सहयोग गर्ने उनले प्रतिवद्धता जनाइन् । फोनिज गण्डकीका इन्चार्ज एमबी आस्था मगरले सत्यनारायणबहादुर श्रेष्ठ नै पत्रकार महासंघको संस्थापक अध्यक्ष हुन् भन्ने प्रमाण फोनिजको संघीय तहमा प्रमाण सुरक्षित रहेको बताए । सोही प्रमाणका आधारमा महासंघको केन्द्रीय तहले पनि आगामी वर्ष ७४ औं स्थापना दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा भइरहेको विवादलाई सत्य र तथ्यको आधारमा छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्नेमा जोड दिए । पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले अहिले पत्रकार खुलेर लेख्न तथा बोल्न सक्ने वातावरण हुनुमा सत्यनारायण बहादुर श्रेष्ठ तथा कृष्णप्रसाद भट्टराई दुवैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।
फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, फोनिज गण्डकीसमन्वय समितिका मुख्य सचिव सुजन लामा लगायतले संस्थापक अध्यक्षको विषयमा प्रमाणसहित सत्यतामा रहेर बहस र संवाद अघि बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले स्वागत र फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ ‘सुमन’ कार्यक्रम सञ्चालनले गरेका थिए ।
प्रकाशित मिति २०८१ वैशाख ९ गते आइतबार ०८:२४




