२०८३ साउन २१ गते बिहीबार

सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता : सांसद नेम्वाङ

सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता : सांसद नेम्वाङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २६ गते बुधबार ०१:२६

नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

काठमाडौं ।

नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आफ्नो बुवाले देखाएको इमान र निष्ठाको राजनीतिक बाटोमा हिँडेर सबैसँग सहकार्य गर्दै इलामको समस्या समाधान गर्न विशेष जोड दिने बताए ।

नेपालमा विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्था र प्राविधिक ज्ञान अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै उनले त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे।

‘नेपालमा धेरै विकासका काम भइरहेको छ, नीति निर्माण भइरहेको छ । तर संसदबाट धेरै ऐन,कानून,नीति निर्माण भएका छन् तर, ति प्राविधिक कारणले होस कि सुशासनको कमीले सबै कामहरुले पूर्णता प्राप्त गरेको छैन् कार्यान्वयन भएको छैन’, उनले भने, ‘त्यही कारणले हामी सबैले एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर त्यसलाई कसरी पूर्णता दिन सकिन्छ र कानुन कार्यान्वयन गर्न एकताबद्ध लाग्नुपर्छ भन्ने मलाई लाग्छ । बुवाले देखाउनुभएको इमानको बाटोमा निष्ठापूर्वक ति सबै कामलाई पूर्णता दिने गरेर म अगाडि बढ्छु।’

आफूले इलामको विकासमा प्राथमिकता दिएर सघीय संसदमा कृषि,शिक्षा,पर्यटन लगायतका क्षेत्रमा ऐन निर्माण वा संशोधन गर्नु आवश्यक भए त्यसमा पहल गर्नेमा उनले जोड दिए ।

‘इलामको समस्या समाधानका लागि संसदमा मैले के गर्नुपर्छ भन्नेमा मेरो विशेष ध्यान हुन्छ । साथै इलामको शिक्षा,स्वास्थ्य,कृषि,पर्यटनसँग जोडिएका एन कानून निर्माण देखि परिमार्जन सम्ममा ध्यान दिएर अगाडि बढ्नुपर्छ’ सांसद नेम्वाङले भने ।

सहकारी रकम हिनामिना प्रकरणमा कांग्रेसले राखेको संसदीय समिति गठनको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘हरेको कुराको हल सम्वादबाटै हुन्छ । त्यसैले सम्वाद गर्ने सौहार्दपूर्ण वातावरण बनाएर संसदलाई राम्रोसँग चल्न दिनुपर्छ भन्ने लाग्छ ।’

बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेलेले उनलाई शपथ दिलाएर सांसदको प्रतिक चिह्न प्रदान गरेका थिए ।

सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधान÷ऐन÷नियमका सामग्री प्रदान गरे भने कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित जनाएका थिए ।

नेम्वाङ गएको वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका सांसद हुन ।

 

प्रकाशित मिति २०८१ वैशाख २६ गते बुधबार ०१:२६
हजुरको प्रतिक्रिया