२०८३ साउन २१ गते बिहीबार

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ३० गते आइतबार १२:१८

चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक बनाउने बताएका हुन् ।

काठमाडौं ।

प्रधानन्त्री पुष्पकमल दाहालले सरकारी र निजी संस्थाले उपलब्ध गराउने नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्ने बताएका छन् ।

चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक बनाउने बताएका हुन् ।

‘नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा  सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,’प्रधानमन्त्रीले थप भनेका छन् ‘उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ,’दाहाल सचिवालयले जनाएको छ ।

पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको चर्चा गरेका दाहालले नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढेकाले नीतिगत सुधार गर्न सरकारलाई जिम्मेवारी थपिएको बताए ।

उनले भनेका छन्, ‘यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।’

नेपालका अस्पतालहरूमा नर्स बिरामीको अनुपातअनुसार दरबन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य गर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति २०८१ वैशाख ३० गते आइतबार १२:१८
हजुरको प्रतिक्रिया