पूर्वराष्ट्रपति भण्डारीले गरिन् मदन भण्डारीको शालिकमा माल्यार्पण
काठमाडौँ ।
आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।
चालक अमर लामा बाँच्न सफल भएका थिए । तर चालक लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।
रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ ।
यसैबीच सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।
एमालेले आज पनि मदन नगर बल्खुमा कार्यक्रमको आयोजना गरेको छ ।
३१ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलगायत नेता उपस्थित थिए ।
नेता–कार्यकर्ताले पनि मदन भण्डारीको शालिकमा माल्यार्पण गरे ।
प्रकाशित मिति २०८१ जेठ ३ गते बिहीबार १०:३०




