२०८३ साउन २१ गते बिहीबार

सभामुखप्रति कांग्रेस रुष्ट, समिति गठनको अडान कायमै

सभामुखप्रति कांग्रेस रुष्ट, समिति गठनको अडान कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ४ गते शुक्रबार १२:४९

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने पुनः निर्णय गरेको छ ।

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने पुनः निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले बिहीबारको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखले बैठकपछि बोल्दै सहकारीको रकम अपचलनमा गृहमन्त्री एवं रास्वपा सभापति लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रुपमा राखिएको बताए ।

लेखकले भनेका छन्, ‘संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको छ । कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।’

आजको बैठकले सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर समेत गरेको लेखकले जानकारी दिए ।

‘प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौं । विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ । वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ,’कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।

लेखकले सभामुखले सभामा तटस्थ हुन नसकेको बताएका छन् । ‘सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन। हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं,’ उनले भने ।

प्रकाशित मिति २०८१ जेठ ४ गते शुक्रबार १२:४९
हजुरको प्रतिक्रिया