२०८३ असोज २५ गते आइतबार

सञ्चालकको लापरवाहीको शिकार सहकारी अभियान बन्यो: मुख्यमन्त्री अधिकारी

सञ्चालकको लापरवाहीको शिकार सहकारी अभियान बन्यो: मुख्यमन्त्री अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ४ गते शुक्रबार ०५:५१

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् ।

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् ।

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा शुक्रबार भएको ‘साकोस जोखिम विश्लेषण कार्यशालामा मुख्यमन्त्री अधिकारीले सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने उल्लेख गरे ।

‘नियामक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान हुँदैन,’ उनले भने । सहकारी अभियान समाप्त भयो भने संविधान नै अपूरो हुने भन्दै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै ठीक अवस्थामा राख्नको लागि सबैले ध्यान पुर्‍याउनुपर्ने उल्लेख गरे ।

‘सहकारी अभियान समाप्त भयो भने संविधान नै अपुरो हुन्छ, त्यसतर्फ सेयरसदस्य, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म र हामीसम्म सबैले ध्यान पुर्‍याउनै पर्ने विषय छ’ मुख्यमन्त्री अधिकारीले भने । सहकारी क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा भएको कारण लगानी सही ठाउँमा हुन नसकेको र दोहोरोपना देखिएको खुलाए । ‘सेयर सदस्यलाई थाहा छैन, आउनुहोस् ऋण दिइहाल्छु भन्यो, अस्वस्थ प्रतिष्पर्धा देख्छु म’ उनले भने ।

सेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्नेमा उहाँको जोड छ । नयाँ प्रवर्तनका कामहरु रोजगारी सिर्जनाका कामहरु संस्थाले गरेको छ छैन भन्नेमा सेयर सदस्यको चासो हुनुपर्नेमा उनको जोड थियो । ‘बोनस बाँड्ने काम हुन्छ, पोहोर घट्यो अहिले बढ्यो भन्ने बाहेक सेयर सदस्यलाई धेरैँ चासो हुँदैन, कहिलेकाही व्यानर टाँसेर घुमाइन्छ, के-के भइरहेको छ भन्ने चासो पनि छैन’ उनले भने ।

सञ्चालकहरूको लापरवाहीको शिकार पोखराको सहकारी अभियान भइरहेको भन्दै सहकारीबाट अर्बौँको रकम अपचलन भएको कारण राजनीतिक वृत्तमा पनि ठुलो चुनौती खडा गरेको सुनाए ।

प्रकाशित मिति २०८१ जेठ ४ गते शुक्रबार ०५:५१
हजुरको प्रतिक्रिया