२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए सपथ

गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए सपथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १६ गते बुधबार ०८:००

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् ।

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेसँगैै कांग्रेसकै दुई मन्त्रीले पनि सपथ खाएका छन् । पाण्डेले कास्कीका बिन्दुकुमार थापा र लमजुङका डाक्टर टकराज गुरुङलाई मन्त्री बनाएका हुन् । थापाले उर्जा, खानेपानी तथा सामाजिक विकास र गुरुङले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सर्वोच्चले सोमबार ४८ घण्टाभित्र गण्डकीमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएको थियो । उपधारा (३) मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार सुरेन्द्रराज पाण्डे दोस्रो पटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । अघिल्लो वर्ष बैशाख १४ गते पाण्डे नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ सासंद र राजीव गुरुङ (दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

सत्ता समिकरणमा फेरबदल आएपछि माओवादी केन्द्रले पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो । विश्वासको मत नपाउने निश्चित भएपछि पाण्डे गत चैत २१ मा प्रदेश प्रमुख समक्ष राजिनामा बुझाएका थिए ।

चैत २५ मा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमालेका २२, माओवादीका सभामुखसहित ८ र दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । दोस्रोपटक मुख्यमन्त्री बनेका खगराजले वैशाख २४ गते विश्वासको मत लिएका थिए । सभामुख कृष्णप्रसाद धितालले ३० सांसदको समर्थन पाएका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

उक्त कदम विरुद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै उपधारा ३ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेसँगै पाण्डे दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पाण्डेले अबको ३० दिनभित्र विश्वासकोे मत लिनुपर्नेछ । तर, विश्वासको मत लिन त्यति सहज छैन । राप्रपाले मात्रै समर्थन दिएर पुग्दैन । नेकपा एकीकृत समाजवादी पार्टीका राजिव गुरुङ (दीपक मनाङे) सँगै नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले पनि विश्वासको मत दिनुपर्छ ।

नभए उपाधारा (५) अनुसार सरकार गठन हुनेछ । रिस्क बढी हुने भएकाले उपधारमा (५) मा जान नदिने पाण्डेले बताए । सबै दलसँग सहकार्य गरेर विश्वासको मत लिने उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ जेठ १६ गते बुधबार ०८:००
हजुरको प्रतिक्रिया