पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालोझण्डा देखाएर सहकारीका पीडित बचतकर्ताले गल्ती गरेको टिप्पणी गरेका छन्।
सहकारी पीडितको पक्षमा रहेको सरकारलाई नबुझिकन बचतकर्ताले कालोझण्डा देखाएको उनको भनाइ छ।
नेकपा माओवादी केन्द्र गण्डकीले बुधबार पोखरा सभागृहमा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा आएका प्रचण्डलाई सहकारी पीडितले कालोझण्डा देखाएका थिए। कालोझण्डा देखाउने पीडित बचतकर्तालाई प्रहरीले धरपकड गरेको छ। सहकारी पीडितको आन्दोलनमा सहभागी १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पार्टीको प्रशिक्षणको क्रममा प्रचण्डले सरकार पीडित बचतकर्ताको पक्षमा रहेको उल्लेख गरे। सरकारले ल्याएको आगामी आर्थिक वर्षकोे बजेटमा समस्याग्रस्त सहकारीमा ५ लाख रुपैयाँसम्मको बचत गरेका बचतकर्ताको रकम फिर्ता गर्ने उल्लेख गरेको उनको भनाइ थियो।
‘त्यहाँ बाहिर अघि कालो झण्डा देखाएका सहकारी पीडितहरुलाई म भन्न चहान्छु तपाईहरुले नबुझिकन कालो झण्डा देखाउनुभो। जून सरकार तपाईहरुको पक्षमा लडिरहेको छ र भर्खरैै पाँच लाखको दरले तपाईहरुको बचत फिर्ता लिने जिम्मा लिएको छ। त्यो सरकारलाई कालोझण्डा देखाउनु तपाईहरुले ठूलो ब्लन्डर गर्नुभो। यस्तो कुबुद्धितिर नलाग्नुहोला तपाईहरुको पक्षको सरकारलाई।’
पोखरामा सूर्यदर्शन, शिवशिखर, इमेज, मित्रमिलन, बलिदानी, विन्दवासिनी र प्राइम बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना पारेका छन्। ७ सहकारीविरुद्ध प्रहरीमा उजुरी परेपछि छानबिनको चरणमा छ। झन्डै ४० हजार बचतकर्ताको ७ अर्ब रुपैयाँ सहकारीका सञ्चालक हिनामिना गरेका छन्।
पटक पटक समस्या समाधानका लागि अनुनय विनय गर्दा पनि पहल नभएपछि बाध्य भएर कालोझण्डा देखाएको सहकारी बचत पीडित संघर्ष समिति कास्कीका संयोज किरण श्रेष्ठले बताए। ‘शान्तिपूर्ण विरोध गरौं भनेर सभागृहमा कालोझण्डा देखाएका थियौं। प्रहरीले अमानवीय व्यवहार देखाएर दमन ग¥यो’, उनले भने, ‘कालोझण्डा नियन्त्रणमा लिदाँ पनि हुने हो। ७०र७१ बर्षका वृद्धहरुलाई दमन गर्नु निन्दनीय छ ।’ विरोध कसरी गर्नुपर्छ राजनीतिक दलहरुबाटै सिकेको उनको भनाइ छ।
यसअघि चैत ४ मा पोखरालाई पर्यटनको राजनधानि घोषणा गर्न आएको बेला सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताले जीबी राईलाई पक्राउ गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। प्रधानमन्त्रीले समस्या समाधान गर्ने आश्वासन दिएका थिए।
प्रकाशित मिति २०८१ जेठ २३ गते बुधबार ०३:४३




