पोखरा
पोखरामा मूर्तिकला र वातावरणीय प्रतिस्थापन कलाको कार्यशाला सुरु भएको छ । दुवै कार्यशाला शनिबारदेखि सुरु भएको हो ।
तालिमको शुभारम्भमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कलकारको सीप विकासमा आफूहरु सदैव लाग्ने बताए । सबै प्रज्ञा प्रतिष्ठानको लक्ष्य एउटै भएकाले मिलेर काम गर्ने उनको भनाइ थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कलाकारले तत्कालका लागि भन्दा पनि पुस्तौं पछाडीको समाजलाई प्रभाव देखाउने गरेर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
सिर्जनशील कलाकार समूहका कार्यवहाक अध्यक्ष डिबी गुरुङले प्रशिक्षणले कलाकारको सिर्जनशील क्षमता तिखार्न सघाउने बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको बहुआयमिक कला विभागले आयोजना गरेको वातवरणीय प्रतिस्थापन कला कार्यशाला एवम प्रदर्शनी सोमबारसम्म चल्नेछ । तीन दिने कार्यशालामा सहभागी हुने १० जना प्रशिक्षार्थीले सेती नदीको किनार शक्तिघाटमा सिर्जनाशीलता पोख्नेछन् ।
विभाग प्रमुख शौरगंगा दर्शनाधारीका अनुसार ढुंगा, बालुवा, काठपातलाई कलाको रुपमा प्रस्तुत गरिनेछ । ग्यालरीमा मात्रै नभएर वातावरणमा पनि कलकारले भावना पोख्न सक्छन् भनेर कोशिष गरेको उनको भनाइ छ । प्रशिक्षार्थीसँग दर्शनाधारीले नै सहजीकरण गर्नेछिन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागले सञ्चालन गरेको तालिम असार ७ गतेसम्म चल्नेछ । मूर्तीकला प्रशिक्षणमा २० जना कलाकार सहभागी हुनेछन् । मुर्तीकार पूजन खतिवडाले आधारभूतदेखि मुर्ती तयार पार्नेसम्मको सीप सिकाउनेछन् ।
प्रतिष्ठानको वास्तुकला विभागले पोखराको बाटुलेचौरमा सारंगी बनाउने तालिम शनिबारदेखि नै सुरु गरेको छ । उपहार दिन प्रयोग हुने सारंगी बनाउने तालिममा १० जना सहभागी भएका छन् ।
तालिम सञ्चालन गर्नलाई गण्डकी प्रज्ञा प्रतिष्ठान र सिर्जनशील कलाकार समूहले सघाएका छन् ।
प्रकाशित मिति २०८१ असार १ गते शनिबार ०५:०५




