पोखरा
लागूऔषध दुरुपयोग एवम ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२४ को सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा भएको सप्ताहव्यापी कार्यक्रमको बुधबार समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा शहरीकरणसँगै लागूऔषध प्रयोगकर्ताको संख्या बढिरहेको बताए । युवा अवस्थामा साथीसंगत र परिवेशका कारणले दुव्र्यसनमा फस्ने सम्भावना बढी रहेको उनको भनाइ थियो ।
विद्यालय तहबाटै लागू पदार्थविरुद्धको सचेतना जगाउन आवश्यक रहेको बताए । लागुऔषधबाट छुटकारा दिनका लागि राखिने पुर्नस्थापना केन्द्रपनि न्यूतम् मापदण्ड विपरित रहेकोे मेयर आचार्यले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले काठमाडौंपछि पोखरामा लागूऔषध प्रयोगकर्ता बढी भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा कास्कीमा १२४ लागूऔषध सम्बन्धि मुद्वा दर्ता भएको छ ।
हिरासतदेखि कारागारसम्म लागूऔषध मुद्वाका प्रतिवादी रहेको उनले जानकारी दिए । पर्यटकीय राजधानी घोषणाभएसँगै झनै चुनौती थपिएकोे एसपी थापाले बताए ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लागूऔषध नियन्त्रणका लागि क्रियाशलि संघसंस्था, आमा समूह, युवा क्लबका प्रतिनिधि र विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
असार ६ गतदेखि विभिन्न सचेतनामूलक कार्यक्रमसहित लागूऔषध दुरुपयोग एवम ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२४ को सप्ताहव्यापी कार्यक्रम मनाइएको हो ।
प्रकाशित मिति २०८१ असार १२ गते बुधबार ०६:५४




