पोखरा
घरमाथिबाट खसेको पहिरोको धक्काले हरिमाया शर्मा (६७) कोे घर क्षणभरमै बिलायो । छिमेकी माधव शर्मा (७१) र गुहेश्वरी शर्मा (६५) दम्पत्तिको ओेत लाग्ने घर पनि पहिरोले असुरक्षित बनायो ।
शनिबार विहान आएकोे पहिरोबाट तीन जनाले भागेर बालबाल ज्यान जोगाए । स्याङजाको विरुवा गाउँपालिका–६ स्याङदीका उनीहरु रातभरको वर्षापछिको पहिरोले घरवीहिन भए ।
मुसलधारे पानीमा घरछेउको चौतारीमा आश्रय लिएका तीनै जनालाई एक किलोमिटर पर लामाखेतस्थित ईश्वरी लम्साल घरमा लगियो । एकतिर घर गुमाउनुको पीडा अर्कोतर्फ ज्यान जोगिनुको खुशी ।
घरबास गुमाएर निर्थुक्कै भिजेका तीनै जनाले गाउँलेको पुगेर ओत लाए । भोक मेटाउनलाई खाना खाने बेलामा त्यहाँ पनि पहिरो खस्यो । विहान बालबाल ज्यान जोगाएका हरिमाया, माधव र गुहेश्वरी तीनै जनालाई पहिरोले निलेको छ ।
पहिरोमा परेर वेपत्ता तीनै जनाको शव निकालेको वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले बताए । ‘खाना खाने बेलामा अचानक पहिरो आएर दुर्घटना घट्यो’, उनले भने, ‘उहाँहरु घरमा त बचे भनेर जानुभाथ्यो । पछि फेरी घटना घट्यो ।’
उनीहरुले आश्रय लिएको घरमा ८ जनाको परिवार बस्छन् । उनीहरुमध्य ५ जना घाइते भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुुसार घाइते सबैको अवस्था सामान्य नै छ ।
भारी वर्षापछि ज्याग्दी खोलाले थ्रुपै खेतीयोग्य जमिन कटान गरेको छ । खोलाको बहाव २०/२५ वर्षपछिकैै उच्च रहेको उनले सुनाए । ‘पहिरोले बाटोघाटाहरु अबरुद्ध छन् । अहिले खुलाउने अवस्था छैन । धेरै क्षति भएको छ’, वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । विद्युत्तका पोल ढल्दा सेवा अवरुद्ध भएको छ ।
शुत्रबार साँझदेखि परेको वर्षा शनिबार दिनैभर रोकिएन । शनिबार दिउँसो घरमाथिबाट खसेको पहिरोले स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक जिमिरेमा एक जना वृद्धा वेपत्ता भएकी छन् ।
सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ७५ वर्षीय खेमकुमारी मल्ल वेपत्ता भएकी हुन् । खेमकुमारीकी बुहारीले भने भागेर ज्यान जोगाउन सफल भएकी छिन् । ‘पहिरो खस्ला जस्तो ठा’मै थिएन । कसरी खस्यो कुन्नी’, वडाध्यक्ष कृष्णबहादुर थापाले सुनाए । खोजीकार्य गर्दा नभेटिएपछि आइतबार विहानैदेखि डोजर लगाएर खोज्ने उनले बताए ।
उता पर्वतमा पनि पहिरोले दुई जनाको ज्यान लिएको छ । गोठमा बाँधेको पशुचौपाय जोगाउन खोज्दा पहिरोमा परेर दुई जनाको ज्यान गएको हो ।
फलेवास नगरपालिका–१ कार्कीनेटामा गोठमाथिबाट खसेको पहिरोमा परेर ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३३ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको हो । तुलसीप्रसाद झलकको आफन्त हुन् ।
पहिरोमा पुरिएर वेपत्ता दुवै जनाको शव फेला परेकोे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले जानकारी दिए ।
‘सुरुमा सानो पहिरो खस्दा भैसीबाख्रा निकाल्नु जानुभएछ । एक्कासी पहिरो खसेर ज्यान लियो’, भुषालको भनाइ छ । पहिरोमा पुरिएर २ वटा माउ भैँसी, एउटा पाडो र ४ वटा बाख्रासमेत वेपत्ता भएको छ ।
तनहुँमा पनि पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोले घर पुरिएर तीन जना बेपत्ता भएका थिए । वेपत्ता मध्य हिरा नेपालीको शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौैताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी बताए । अनिषा बास्तोला र श्याम भण्डारी वेपत्ता रहेका छन् ।
दिउँसो हिरा नेपालीको घरमा पहिरो खसेपछि उद्धार गर्न आएका छिमेकीसमेत वेपत्ता भएका हुन् । ५ जना सामान्य घाइते भएका थिए । भिरालो जमिन भएकाले पहिरो झरेको प्रहरी निरीक्षक सुवेदी बताउँछन् । पहिरो खसेर सुना नेपालीको घरमा समेत पूर्ण क्षति पुगेको छ ।
शनिबार मात्रै गण्डकीमा बाढीपहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने तीन वेपत्ता भएका हुन् ।
मनसुन सुरु भएसँगै गण्डकी प्रदेशमा १७ जनाले पहिरोमा परेर ज्यान गुमाएका छन् । यस अघि नै लमजुङमा पहिरोमा परेर ५ जनाले ज्यान गुमाएका हुन् । कास्की स्याङजा र बाग्लुङमा २/२ जनाको मृत्यु भएको छ ।
तस्बिर पनि छ ।
प्रकाशित मिति २०८१ असार २२ गते शनिबार ०९:२८




