काठमाडौं
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नयाँ मन्त्रीपरिषद्मा दलित समूदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाएकी छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दैसांसद कार्कीले महिलाहरुको प्रतिनिधित्व पनि कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले वर्तमान सरकारको गणित कमजोर भएर हो वा नियतमै खोट भएर महिलाहरुको प्रतिनिधित्व समानुपातिक रुपमा मन्त्रीपरिषद्मा कम भएको ? भनि प्रश्न समेत गरिन् । सांसद कार्कीले सरकारले व्यक्तिगत लाभका आधारमा मन्त्री नियुक्तीको काम भएको जिकिर समेत गरिन् ।
‘दुई ठूला दल मिलेर बनेको सरकारको जम्बो मन्त्रीटोलीमा जम्मा दुई जना जम्बोमन्त्री अटाउन सकेछन । आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्नेमा ३३ प्रतिशत चाहीँ हामी अनिवार्य गराउँछौं भन्ने दुई ठूला दलको ३३ प्रतिशत भनेको २२ को २ हुँदो रहेछ,’ उनले भनिन्, ‘तपाईहरुको गणित कमजोर हो कि नियतमै खोट हो ? महिला अधिकार कहाँ गयो, संविधान र लोकतन्त्रको मूल्यमान्यता कहाँ गयो ? भाषणमा समावेशिता भनेर कहिल्यै नथाक्ने हाम्रा नेताहरुले व्यवहारमै सरकारको नेतृत्वमा क्याविनेटमा नै दलित समुदायलाई किन सम्मानजनक स्थान दिएनन ?’
प्रकाशित मिति २०८१ असार ३१ गते सोमबार ०८:१४




