पोखरा
मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्याङ्क तथा विवरण राख्ने गरेको छ । २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार तीन सय ७४ वटा सवारी साधनमार्फत चार लाख २७ हजार दुई सय ७१ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
तीन लाख १८ हजार आठ सय १४ जना आन्तरिक, ९९ हजार दुई सय ७६ जना सार्क राष्ट्रका र नौ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका पाण्डेले बताए ।
आर्थिक वर्ष २०७९/८० मा ६२ हजार तीन सय ४० वटा सवारी साधनमार्फत तीन लाख ७९ हजार सात सय ६७ जना पर्यटक मुस्ताङ आएका थिए । जसमध्ये आन्तरिक पर्यटक तीन लाख तीन हजार आठ सय जना र विदेशी ७५ हजार नौ सय ६७ जना रहेका थिए ।
मुस्ताङ भित्रर्ने विदेशी पर्यटकको ठूलो संख्या भारतीयको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थल छन् ।
प्रकाशित मिति २०८१ साउन १ गते मंगलबार ०४:१६




