२०८३ साउन २१ गते बिहीबार

पोखरामा पत्रकार कुट्ने पाँच जना पक्राउ

पोखरामा पत्रकार कुट्ने पाँच जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १३ गते आइतबार ०६:५२

पृथ्वीचोकमा उत्रिएका व्यवसायी र मजदुरले पत्रकारमाथि कुटपिट गरेका थिए ।

पोखरा

यातायात व्यवसायीले गरेको आन्दोलनमा रिपोर्टिङका लागि पुगेका पत्रकार कुट्ने पाँच जना पक्राउ परेका छन् ।

सवारी थन्काएर गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प पार्दै पोखराको पृथ्वीचोकमा उत्रिएका व्यवसायी र मजदुरले पत्रकारमाथि कुटपिट गरेका थिए ।

सुरक्षाकर्मीकै अगाडि रिपोर्टिङका लागि स्कूटरमा गएका पत्रकार विनु थापा र सुरज थापा कुटिएका हुन् । ग २० प ३९७३ नम्बरको स्कूटरको पछाडी सवार विनुले क्यामेराबाट भिडियो खिच्दै गर्दा आन्दोलनरत समूहले कुटपिट गरेको थियो ।

पत्रकारका संघसंस्थाले चौतर्फि विरोध गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई पक्राउ गरेको छ ।

गोरखा भच्चेक घर भइ पोखराको पृथ्वीचोक बस्ने ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, शान्तिवनका ४१ वर्षीय सूर्यबहादुर नेपाली, लामाचौर बस्ने १६ वर्षीय प्रशान्त गुरुङ, लम्जुङको कुन्छा घर भइ पोखराको जिरो बस्ने २८ वर्षीय सन्तोष बस्नेत र स्याङ्जाको आँधिखोला घर भइ घारीपाटन बस्ने ३५ वर्षीय टंकबहादुर क्षेत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

नेपाली र बस्नेत ट्याक्सीको चालक हुन् । बयलकोटी मजदूर र गुरुङ बसका सहचालक रहेको प्रहरीले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले शान्तिपूर्ण आन्दोलन गर्ने भनेपनि पत्रकार, निजी सवारी चालकमाथि जाइलाग्ने मात्रै नभएर सवारी तोडफोडमै उत्रिएका छन् । तोडफोडमा उत्रने अन्यलाई पनि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने एसपी थापाको भनाइ छ ।

प्रकाशित मिति २०८१ साउन १३ गते आइतबार ०६:५२
हजुरको प्रतिक्रिया