पोखरा
घुमफिर गर्दै पर्यटन प्रबद्र्धनमा लागेका युवाको समूह ‘डुलुवा’ कास्कीदेखि कन्याकुमारीको यात्रामा निस्किएको छ । डुलुवाको समूह बिहिबार कास्कीदेखि भारतको कन्याकुमारीको यात्रामा निस्किएको हो ।
एक महिने लामो यात्रा २५ अगस्टमा पोखरा नै फर्किएर टुंगिनेछ । कन्याकुमारी यात्रामा निस्किएका डुलुवाको समूहलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख नविन पोखरेलले विदाइ गरे ।
पोखराबाट निस्किएको टोली रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोडिचेरी, रामेश्वरम हुँदै कन्याकुमारी पुग्नेछ । कन्याकुमारीबाट कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्ली हुँदै पोखरा आएर यात्राको बिट मार्ने डुलुवका टिम लिडर योगेश भट्टराईले जानकारी दिए ।
नेपालका प्राकृतिक र सांस्कृतिक सुन्दरताका प्रचार गर्दै भारतीय पर्यटकलाई निम्तो बाँड्ने भट्टराईले बताए । ‘बढ्दो साहसिक पर्यटनका सम्भावना परिचित गराउनु हो । यात्राका क्रममा भेटिएका पर्यटकीय स्थलको उजागर र नेपाल भारतबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनुछ’, उनले भने ।
सन् २००८ मा प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आवद्ध पोखराका युवाले अनौपचारिक रूपमा नेपाल घुम्न थालेका थिए । सन् २०२० मा त्यही समूहले ‘डुलुवा’ भन्ने नाम जुरायो ।
पछिल्लो १५ वर्षमा डुलुवाले नेपालका ७० वटा जिल्लामा भ्रमण गरेको छ । ‘पहिला देश अनि विदेश’ भन्ने वाक्यांशलाई अंगिकार गर्दैै पोखराबाट लद्दाखसम्म झण्डै सात हजार किलोमिटरको लामो यात्रा गरिसकेको छ । कास्कीदेखि कन्याकुमारीको यात्राले पोखराको पर्यटन प्रबद्र्धनमा सघाउने पर्यटन व्यवसायीको अपेक्षा छ ।
प्रकाशित मिति २०८१ साउन १७ गते बिहीबार ०८:०१




