२०८३ साउन २१ गते बिहीबार

कथा- इलम

कथा- इलम

अनिल कार्की

@Public 4K Tv

२०७७ पुस २७ गते सोमबार ०५:५४

मारी भुत्ल्याउँ जस्तो लाग्छ गएर मोरोलाई । के गर्ने हक लाग्दैन । अब त केही गरे हुने नी । कुरै कुराको जञ्जाल बनाउँछ । कहिले लेखक भइजान्छ, कहिले व्यापारी, कहिले राजनितीक विश्लेषक त कहिले अजम्बरी यात्रामा हिँडेको यात्री । ‘मँ त हिँडेरै संसार घुम्ने हो’ यसो भनेर चिच्याएको मैले कति पटक सुनेकी छु । सपनामा बाँचेको छ यसको जिन्दगी । तैपनि खुबी भने छ मोरोको । कुराले हुरुक्कै पार्छ । तँलाई आकासे । ...... मोरो ।

इलम

जीन्दगीभर कहिल्यै थिर हुने भएन यो आकासे मोरो । भूँइमा नहेरी आकाश हेरेर हिँड्छ । न माथि जान सक्छ बरु ठेस लाग्छ कुनदिन र लड्छ गड्याम्म…… ।  हैन, के सोच्दो हो आफूलाई ? के हुन्छु भन्दो हो ? बोल्न थाल्यो भने रोकिनै जान्दैन । बोल्न आएर मात्र हुने हो र ? कति बोल्ने भन्ने कुराको पनि हेक्का हुनु पर्यो नी ! बोल्न थालेपछि नन्स्टप बोलिरहन्छ । यसो गर्छु, उसो गर्छु । कुराको घुयेत्रो सकिँदैन मोरोको ।

हर विषयको जानिफकार पल्टन्छ । गफ चुट्छ । साँच्चै हो की भन्ने पारिदिन्छ । जीवनमा सफलता कसरी पाउने, इतिहास के हो ? वर्तमान राजनितीमा कुनचाहीँ नीति नमिलेर कार्यसम्पादनमा तादात्मय मिलिरहेको छैन, कुराको बेलिबिस्तार लगाउँछ । कार्य सम्पादनमा खोट लगाउँदै लगभग सबैलाई गाली गर्छ । मोरो आकासे विश्लेषक भई टोपल्छ ।

कुन छिमेकीले देशमा कस्तो दूत पठायो, अब हाम्रो निती के हुने चियाको कपबाट उडेको बाफ सेलाइसक्छ तर यसका गफ सेलाउँदैनन् । कुलमाया दिदिका बारीमा काउलीमा किरा काँबाट आएका हुन् देखी समाजको गति मिले नमिलेको सब जोखना हेरेझैँ गरी भन्छ । आफ्नाे मति ठीक नभएको हेक्का भने कत्ति पनि छैन मोरोलाई ।
चीया गफमै आइडिया फुराउँछ । सल्लाह दिई टोपल्छ साथीभाइलाई अनी के सोच्दो हो कुन्नी सुझाव दिएकोमा फुरुङ्ग हुन्छ आफैँ । समाज र दर्शनका कुरा, ठूला ठूला सपनाका कुरा, अङ्क सहितका व्यापारका कुरा, तथ्याङ्क सहितका विज्ञानका कुरा, ओहो कति जानेको ?

हो यसले कुरै कुराको संसार बुन्छ र फसाउँछ त्यसैको जालोमा वरिपरिका मान्छेहरुलाई । तर्कले तीनलाई लठ्ठ बनाउँछ । जागिरको सल्लाह दिन्छ । पढाइको अर्ती सुझाँउछ । मोरो आकासे, आफुँ भने निकम्मा छ । गीत सङ्गित, गिता, पुराण, ओ हो ! प्रवचन नै पो दिन्छ त । कति मात्रै बोल्छ ।

यै आकासे जस्ता ठिटाहरु अरु पनि छन् टोलमा । यै जस्ता बकम्फुसे बिद्धानहरु । तर हायल कायल पार्छ यो अरुलाई । जिति छाड्छ सबैलाई । मोरो आकासेले मेरै मनलाई पनि त जितेको छ नी !

अझ रक्सि धोकेपछिको त के कुरा । कला साहित्य पो त थप्छ फूलबुट्टा भरेर । राम्रो भयो भएन थाहा छैन । वाह ! वाह भनिदिन्छन् सबै । धोद्रो स्वरमा स्वर सम्राट बनिटोपल्छ । गाउने मात्र हो र गीत संगितका इतिहास वर्तमान जे जती छ सब फलाक्छ । सब जानेको छ यसले । कि जाने जस्तो गरको हो कुन्नी ? मलाई त शंका पनि पो लाग्न थालेको छ आजकाल । यसले नजानेको भनेको त काम नै हो । सिन्को भाँचेको देखेकी छैन मैले अहिलेसम्म यसले । तैपनि समुन्द्रपारीका व्यापारका कुरा गर्छ ।

मारी भुत्ल्याउँ जस्तो लाग्छ गएर मोरोलाई । के गर्ने हक लाग्दैन । अब त केही गरे हुने नी । कुरै कुराको जञ्जाल बनाउँछ । कहिले लेखक भइजान्छ, कहिले व्यापारी, कहिले राजनितीक विश्लेषक त कहिले अजम्बरी यात्रामा हिँडेको यात्री । ‘मँ त हिँडेरै संसार घुम्ने हो’ यसो भनेर चिच्याएको मैले कति पटक सुनेकी छु । सपनामा बाँचेको छ यसको जिन्दगी । तैपनि खुबी भने छ मोरोको । कुराले हुरुक्कै पार्छ । तँलाई आकासे । …… मोरो ।

यती माया लाग्दैन यसको मलाई । यो मोरोलाई यो पनि थाहा छ । थाहा नभएको त यसलाई के पो छ र ? थाहा छ र त रेस्टुरेन्टमा उधारो रक्सिको खाता बनाएको छ । ‘सुजला….., आखिर तिम्रै त हु नी मँ लेख है खातामा । ……मनमा लेखे पनि लेख खातामा लेखे पनि लेख ।’ मात्छ पनि पो यो मोरो त कहिलेकाँही ।

मोरो आकासे के यो रेस्टुरेन्ट मेरो हो र ? मेरा बाआमाको हो नी । के भन्नुहोला वहाँहरुले थाहा पाए ? मँ के भनुँला यसको बचावटमा ? फेरी मँ सधैँ बस्ने पनि त होइन नी रेस्टुरेण्टमा । कलेज सकेपछि यसो हातबटाई पो गरिदिएकी त । यो कुरो पनि थाहा छ मोरोलाई । तर आजसम्म यसले खाएको मैले खातामा चढाएकी छैन । यो कुरा भने खाली मैलाई मात्र थाहा छ ।

दौँतरी हुन् की अग्रज कसैले यसको तर्क काट्यो भने यसको अहम् जाग्छ । रातो पिरो हुने गरी बहस गर्छ । चिया माथि चिया थप्छ । रक्सिका गिलास रित्याउँछ । चियाको तातो बाफसँगै सुरु भएको यसको बिहानी राती रक्सिको चिसोमा गएर सेलाउँछ । सेलाउँदैनन् त यसका कुरा ।

यता आफ्नाे भने घरमा बिहेको कुरा चलेको छ । ब्याचलर सकिँदैछ मेरो । यसको कुरा कसरी गर्नु खै बाआमासँग ? हुन त मेरा बाआमाको मन पनि नजितेको काँ हो र यसले ? कुराले त कसलाई जित्दैन र यसले ? ‘केटो त राम्रै हो । दिमाग पनि भएकै छ । तर कुराको हावामहल बनाइहिँड्छ ।’ उनीहरुले भनेको सुनेकी छु मैले । ठिकै भनेका हुन् नी मेरा बाआमाले पनि । मोरो काम फिटिक्कै गर्दैन । पढेर मास्टर्स सक्यो । बिश्लेषक भई टोपल्छ । कन्फ्युज्ड छ मोरो आँफै ।

समाज र देशका नमिलेका चाङ्को बखान गर्दागर्दै आफ्नै तन्तु फुस्केको थाहा पाएको छैन । आकास आकास हेर्दै हिँडिरहेको छ । ठोक्किएर कुन दिन लड्छ यो भूइँमा । मोरो आकासे । तँ बौद्धिक बिकलाङ्ग होस् तेरा आइडिया, तेरा गफ, तेरा तर्क उफ् । तैपनि मँ तलाई माया गर्छु । असाध्यै माया गर्छु ।

एकाध महिना चाहीँ यसका तर्कले बाटो पाएनन् । यसका गफले मान्छे भेटेनन् । यो महामारीले गर्दा यो आफैँ गुमनाम भयो । मलाई के सम्झन्थ्यो होला र मोरो आकासेले म चाहीँ यसको गफको लत लागेकी जस्ताी पो भएछु त । कहिलेकाहीँ फोन गर्यो आरामै छु भन्छ । यती सुनेपछि मेरो मन चाहीँ ढुक्क हुन्छ ।

सरकारी निषेधाज्ञा सकिन पाएको छैन चिया पसल आउन यसैलाई हतार भएको छ । एकाध भए पनि श्रोता फेला पारेको छ । यसका गफका विषय फेरिएका छन् । कोभिड के हो ? कोभिड के होइन ? कसले यो भाइरस जन्मायो ? कुन देश सुपर पावर हुँदैछ । कोभिडको कन्सिपेरेसी के हो ? ओ हो आकासे कति बोल्न सकेको । कति जानेको ? कति जानेजस्तो गरेको ? तँ बोल्नाले यहाँ केही हुनेवाला छैन । किन बुज्दैनस् तँ ? बरु तैँले केही गरे तँ आफैँ बन्लास् । केही गर् । केही काम गर । छोड् अब यी तेरा ती बेअर्थका तिलस्मी कुरा । सतहमा आइज । धर्तीमा झर् अब त ।

अस्ति भर्खर संविधान सभा विघटनको खबर आयो । अब यो जाइलाग्छ । चिया गफमा बाफिन्छ । रक्सिका घुट्कोहरुमा तातिन्छ । छोड् आकासे यी बकम्फुसे कुरा छोड् । अब त अति भयो । अति नै भयो । छोड् हावाका कुरा । तँ जस्ता पात्रको सप्लाई बढी भएको छ समाजमा । किन भेऊ पाउँदैनस् । यो युवा समय तैँले फेरी पाउँदैनस् । आकासमा हैन धर्तीमा हेर् । धर्तीमा हेरेर हिँड् । इलम गर । केही त गर् । केह्री काम गर् । केही त इलम गर् । मेरो हाथ माग्न आइज । धत् मँ पनि आकासे आकासे भनिरहेकी छु एकोहोरो । आकासे भन्दा भन्दा नाम नै पो बिर्सेछु । इलम गर बिदुर, इलम गर ।

प्रकाशित मिति २०७७ पुस २७ गते सोमबार ०५:५४
हजुरको प्रतिक्रिया