काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनकाबिरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन् ।
आईतबार बिहान झापाको बिर्तामोडमा उनले यस्तो बताएका हुन् ।
गिरीवन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ विघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताए ।
आईतबार बिहान सोही ५१ विघा जग्गामा भारतीय दुतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका थिए ।
स्थानीयवासीको ज्ञापन पत्र बुझ्दै दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने आश्वासन दिए ।
उनले भने, ‘सायद मैले यिनै बेथिति र विचलनकाबिरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो । तर अब सडकबाट भएपनि, सदनबाट भएपनि, सरकारबाट भएपनि तपाईंहरुलाई न्याय दिलाउनेछु ।
‘मर्निङ वाक’मा निस्किएका दाहाललाई स्थानीयले ज्ञापनपत्र बुझाएपछि दाहालले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताए ।
प्रकाशित मिति २०८१ भदौ ३० गते आइतबार १०:५४




