२०८३ साउन २१ गते बिहीबार

यो शरद याममा धवलागिरि हिमाल आरोहणका लागि १४ जनालाई अनुमति

यो शरद याममा धवलागिरि हिमाल आरोहणका लागि १४ जनालाई अनुमति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ८ गते मंगलबार १०:२९

पर्यटन विभागको पछिल्लो विवरणअनुसार यस यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् ।

म्याग्दी ।

म्याग्दीको धवलागिरि हिमाल आरोहणका लागि यस वर्षको शरद् याममा १४ जनाले अनुमति लिएका छन् ।

एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६ लाख ८९ हजार ३० रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

गएको वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । त्यसवापत ७१ लाख ७० हजार सात सय ५० रुपैयाँ शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहनुभएका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए ।

पर्यटन विभागको पछिल्लो विवरणअनुसार यस यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् ।

उनीहरुबाट चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ रुपैयाँ आरोहण शुल्क प्राप्त भएको छ ।

शरद् याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ ।

अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म रुपैयाँ सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।

शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो ।

पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो पाँच, थाकर गो इस्ट चार, पुङ्गी पाँच, कुम्भकर्ण छ, अरनीको चुली तीन, अपी छ र मकालु पहिलो आरोहण गर्न दुई जनाले अनुमति लिएका छन् ।

शरद् याममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ ।

गएको वसन्तयाममा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए ।

उनीहरुले रु ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण शुल्क तिरेको विभागको वेबसाइटमा उल्लेख छ ।

प्रकाशित मिति २०८१ असोज ८ गते मंगलबार १०:२९
हजुरको प्रतिक्रिया