म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा पहिलोपटक विद्युतीय सवारी साधन चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।
पछिल्लो समय जिल्लाभित्र नै विद्युतीय सवारीसाधनको प्रयोगकर्ताको संख्या बढेसँगै बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई समेत लक्षित गरी धौलागिरि गण्डकी यातायात प्रालिले जिल्लामा पहिलोपटक विद्युतीय गाडी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।
कालिपुलमा पर्यटक सूचना केन्द्रसँग जोडिएको स्टेशनमा पाँच देखि दश वटा सवारीसाधनले चार्जिङ गर्ने गरिएको प्रालिका प्रतिनिधि इश्वर कार्कीले जानकारी दिए ।
विगतमा विद्युतीय सवारीसाधन चार्जिङका लागि पोखरा र बागलुङ पुग्नुपर्ने बाध्यता थियो । अहिले एउटा चार्जिङ स्टेशन निर्माण गरिएपनि समयअनुकल एकैपटकमा धेरै सवारीसाधन चार्ज गर्ने स्टेशन बनाउने योजना छ ।
एक सवारीसाधनलाई न्यूनतम आधाघण्टा लाग्छ । चार्जिङ मेशिन सहित अन्य खर्च गरी करिब ७ लाखभन्दा बढी खर्च भएको छ ।
बागलुुङमा रहेको चार्जिङ स्टेशनमा सवारीसाधनको चाप भएमा बेनी आएर चार्जिङ समेत गर्ने गरेका छन् ।
चार्जिङ स्टेशनमा विद्युतीय सवारीसाधनले चार्ज गरेको प्रतियुनिट १० रुपैयाँ चार्ज शुल्क तोकिएको छ ।
बसपार्कमा पाँचदिन अगाडी राखिएबको चार्जिङ स्टेशनका बारेमा धेरैलाई जानकारी नभएकाले क्रमश सवारीसाधनको चाप बढ्दै जाने रहेको धौलागिरि गण्डकी यातायात प्रालिले जनाएको छ ।
सदरमुकाम बेनीमा बसपार्क बाहेक होटल तथा अन्य स्थानमा समेत चार्जिङ स्टेशन राख्ने तयारी भइरहेको छ ।





