पोखरा
नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ ।
पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको नेता मानुषी यमी भट्टराईले जानकारी दिइन् । आजै सचिवालय बैठक बसेको थियो । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ । विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ। विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो ।
पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको नेता मानुषी यमी भट्टराईले जानकारी दिइन् । अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसाआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन् ।
निर्वाचन समिति ३३ सदस्यीय हुनेछन् । सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ । पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ । त्यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ ।
प्रकाशित मिति २०८१ कात्तिक ६ गते मंगलबार ०७:४२




