२०८३ कात्तिक १० गते सोमबार

फिल्मसिटी : सपना पोखराको, यात्रा डाङ्डुङे डाँडाको

फिल्मसिटी : सपना पोखराको, यात्रा डाङ्डुङे डाँडाको

मन क्षेत्री

@Public 4K Tv

२०७७ माघ १७ गते शनिबार ०६:३४

गण्डकी प्रदेशको छायांकनस्थलका रुपमा पोखरा महानगरपालिका–२४ कास्कीकोटको उपल्लो क्षेत्र छनोटमा परेको छ । करिब ४ सय रोपनी क्षेत्रफलको जग्गा समग्र प्रदेशको छायांकलस्थलका रुपमा छनोट भएकाे छ ।

पर्यटनसँग सहकार्य खोज्दै सिनेमा !

एक दशक अघि कास्की फिल्म सिटी बन्ने कुराको चर्चा चल्यो । उक्त परियोजनालाई मूर्तरुप दिने भन्दै एउटा विदेशी टोली पनि सँगै जोडिन आएको थियो ।
कास्कीको अस्तामलाई केन्द्र बनाउने गरी चलेको फिल्म सिटीका लागि स्थानीयसमेत सकारात्मक थिए । तत्कालीन सरकार उक्त योजना कार्यान्वयन गर्न लागेपछि सबैमा आशा पनि पलाएको थियो ।

तर, फिल्म सिटी चर्चा चलेको करिब एक दशक बितिसक्दा पनि उक्त योजना कार्यान्वयन हुनु त परको कुरा चर्चासमेत सेलाएको छ । कास्कीलाई फिल्म सिटी बनाउने योजनासहित लागिरहेको तत्कालीन सरकार र विकास बोर्ड परिवर्तन भएसँगै फिल्म सिटी ‘स्क्रिप्ट’मा मात्रै सीमित बन्न पुग्यो, निर्माण भएन ।

पोखराबाट फिल्म सिटीको यात्रा डाङ्डुङे डाँडातिर !

कास्कीमा बन्ने भनिएको फिल्म सिटीले मूर्त रुप नपाउने भएपछि विस्तारै यही विषयमाथि राजनीति सुरु भयो । चलचित्र विकास बोर्डमा जसको प्रभुत्व रहन्छ, उसैको रुचिअनुरुप नयाँ नयाँ क्षेत्र तोकिए । तर, ती नयाँ ठाउँमा समेत फिल्म सिटी बन्न सकेनन् ।

हाल फिल्म सिटीको सपना दैलेखको डाङ्डुङ्े डाँडामा पुगेर थकाइ मारेको छ । दैलेखमा १५ सय रोपनी जग्गा फिल्मसिटीका लागि छुट्टिएको छ । दैलेखमा फिल्म सिटी क्षेत्र तोकिँदा सिनेकर्मी नै असन्तुष्ट बनेका छन् । उनीहरु सिल्म सिटीका लागि पोखरा नै उत्तम ठाउँ रहेको दाबी गर्न थालेका छन् ।

‘फिल्मसिटी भन्ने अवधारणा नै सिटीसँग जोडिने अवधारणा हो । कुनै सिटीको नजिकै, सम्पूर्ण पूर्वाधार पुगेको, आवश्यक सामाग्री उपलव्धताको दृष्टीले समेत पायक पर्ने गरी फिल्म सिटीको अवधारणा अगाडी सारिनुपर्छ,’ पोखरामा फिल्म सिटी बन्नुपर्छ भनेर लागेका तत्कालिन विकास बोर्डका सदस्य शिवजी लामिछानेको तर्क छ ।

निर्देशक, फिल्मकर्मी घनश्याम लामिछानेसमेत फिल्मसिटीको लागि पोखरा जत्तिको उपयुक्त स्थान अन्यत्र नभएको मत राख्छन् । भन्छन्, ‘फिल्म क्षेत्रमा पनि चरम राजनीति भयो । यही राजनीतिले गर्दा पोखरामा बन्ने भनिएको फिल्मसिटी अन्यत्र पुग्यो ।’

अहिले सरकारले एक प्रदेश एक छायांकनस्थलको अवधारणा अघि सारेको छ । यसका लागि गण्डकी प्रदेशमा पनि महेन्द्र प्रसाद साँखीको संयोजकत्व एक समिति गठन गरिएको छ । समितिको सदस्यमा माओत्से गुरुङ्, घनश्याम लामिछाने, सुरज आरडी, विकास बोर्डको तर्फबाट गिरिस शर्मा, प्रदेशको आन्तरिक मामिला मन्त्रालयबाट खुबीराम पोखरेल, र किसान पाेख्रेल छन् ।

केन्द्र, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर छायांकनस्थलको विकास र विस्तार गर्ने गरि आएको यो अवधारणाले स्थानीय गाउँ ठाउँलाई सिनेमासँग जोड्छ । सिनेकर्मी घनश्याम लामिछानेका अनुसार गण्डकी प्रदेशको छायांकनस्थलका रुपमा पोखरा महानगरपालिका–२४ कास्कीकोटको उपल्लो क्षेत्र छनोटमा परेको छ । करिब ४ सय रोपनी क्षेत्रफलको जग्गा समग्र प्रदेशको छायांकलस्थलका रुपमा छनोट हुँदा स्थानीय पनि खुसी रहेको उनको दाबी छ ।

प्राकृतिक रुपले धनी र सम्पन्न भएकाले पनि पोखरा आफैंमा फिल्म सिटी भएको सिनेकर्मी बताउछँन् । उनीहरु भन्छन्, ‘फिल्म युनिटलाई पोखरामा लोकेसन खोज्दै यताउता भौतारिनुपर्ने अप्ठयारो छैन् । थुप्रै नेपाली फिल्म पोखरा वरपरका रमणीय दृश्य सँगै कैद छन् । नेपाली मात्र होइन थुप्रै विदेशी फिल्मसमेत पोखरा आसपासको सौन्दर्यसँग जोडिएका छन् ।’

सन् २००४ मा बनेको भारतीय फिल्म ‘लभ इन नेपाल’ को अधिकांश दृश्यमा पोखरा देख्न सकिन्छ । फेवाताल, शान्तिस्तुपदेखि माछापुच्छ्रे हिमाल लगायत थुप्रै ठाउँ लभ इन नेपालको फ्रेममा अटाएका छन् ।

ज्याकी श्राफ, अनिल कपुर, शत्रुधन सिन्हा, हेमा मालिनी, डेनी लगायतले अभिनय गरेको फिल्म ‘युद्ध’ को छायांकन पनि पोखरामा भएको थियो । १९८५ मा बनेको यो फिल्मले पनि नेपाल र पोखरालाई चिनाएको थियो । त्यसो त, सन् १९७१ मा देवानन्दले बनाएको फिल्म ‘हरेराम हरेकृष्ण’ को पटकथा नै उनले पोखराकै फिस्टेल होटलमा बसेर लेखेको चर्चा अहिलेसम्मै छ । मुकुल एस. आनन्दद्धारा निर्देशित सन् १९९२ को अर्को बहुचर्चित फिल्म ‘खुदा गवाह’ मुस्ताङ् पुग्दा पोखराको राम्रै चर्चा भयो ।

बलिउड मात्र नभई हलिउड फिल्म ‘क्याराभान’, ‘हाइवे टु धम्पुस’, ‘एभरेस्ट’, ‘डक्टर स्ट्रेन्ज’ जस्ता थुप्रै फिल्मले नेपालको प्राकृतिक सौन्दर्यलाई संसारभरका दर्शकसमक्ष पस्केका छन् । यसले नेपाललाई चिनाएको मात्र छैन् यहाँको जनजीवन र पर्यटन विकासमा पनि सहयोग पु¥याएका छन् ।

पछिल्लोपटक रमणीय गाउँ ठाउँहरुलाई सिनेमामा पस्कने क्रम नेपाली सिनेमाले समातेको छ । दृष्यका लागि गाउँठाउँ झरेको सिनेमाले स्थानीय लवज, जनजीवन, भेषभूषामा समेत ध्यान दिन थालेको छ । यसले स्थानीय पर्यटनको विकास गर्ने मात्र नभइ जनजीवन उकास्न पनि योगदान दिनसक्छ ।

पर्यटनसँग सहकार्य खोज्दै सिनेमा !

मंगलबार घान्द्रुकमा सम्पन्न ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ बारे छलफलकाे एक तस्विर 

पर्यटन र सिनेमाबीचको सम्भावना खोज्न गत मंगलबार पोखरा छेवैको घान्द्रुकमा नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाले ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ बारे छलफल चल्यो ।

छलफलमा पर्यटन, सिनेमा, साहित्य, पत्रकारिता आदी क्षेत्रसँग सम्वन्धित व्यक्हिरु सहभागी थिए । निश्कर्ष फेरि उही थियो । सिनेमा सम्प्रेषणको शक्तिशाली माध्यम हो । पोखरा आसपासका गाउँठाउँ प्राकृतिक फिल्म सिटी हुन् । यिनीहरुको चिनारीमा सिनेमाले भूमिका खेल्नुपर्छ र त्यो भूमिकाले पर्यटन विकासमा सघाउ पु¥याउँछ ।

स्थानीय भूगोल, लवज, संस्कृतिको चिनारीमा स्थानीय कलाकार, निर्माता, निर्देशकको भूमिका त हुन्छ नै तर स्थानीय सरकार, आम नागरिक, पत्रकार, पर्यटनसँग सम्वन्धित संघसंस्थाहरुले कस्तो चरित्र र भूमिका निर्वाह गर्छन भन्ने विषयले पनि ती स्थानहरुको चिनारी र पर्यटन विकासमा प्रभाव पारिरहेका हुन्छन् ।

प्रकाशित मिति २०७७ माघ १७ गते शनिबार ०६:३४

हजुरको प्रतिक्रिया