लामिछानेकाे रिहाइको दबाब दिन रास्वपाले आज पोखरामा प्रदर्शन गर्दै
पोखरा-
सहकारीको रकम ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै छ।
म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो।
रविलाई कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहानपख उनलाई पोखरा ल्याइपुर्याइएको हो।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसपछि ७ दिनको म्याद थपिएकोमा तिहार बिदाले अदालत बन्द भएपछि आज अदालतमा उपस्थित गराइँदै छ।
प्रहरीले लामिछानेको सरकारी वकिलको रोहबरमा बयान लिइरहेको छ। उनलाई आज म्याद थपका लागि तेस्रो पटक अदालत उपस्थित गराइँदै छ।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि अनुसन्धानका लागि उपस्थित गराइदिन पत्राचार गरेकाले म्याद थपपछि पठाउने कास्की प्रहरीको तयारी छ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज अदालतमा पेश गरिनेछ।
उनी गएको असोज ६ गते पक्राउ परेका थिए।
रास्वपाले पोखरामा फेरि प्रदर्शन गर्ने
रास्वपाले पोखरामा फेरि प्रदर्शन गर्ने भएको छ । एक साता पोखरामा प्रदर्शन गरेका रास्वपाले आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित शुरु गरेको थियो । तिहार पर्वलाई मध्यनजर गर्दै सो पार्टीले आन्दोलन रोकेको थियो ।
सभापति लामिछानेलाई आज अदालत लैजाने भएपछि पोखरामा रास्वपाले प्रदर्शन गर्न लागेको हो । मंगलबार बिहान १०ः३० बजे पोखराको जिरोकिमीस्थित घण्टीघरबाट प्रदर्शन शुरु हुने सो पार्टीले जनाएको छ ।
रास्वपाले सभापति लामिछाने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै आएको छ । रविलाई पक्राउ गरेर कास्की ल्याएसँगै रास्वपाले देशभरका कार्यकर्ता पोखरा उतारेर आन्दोलन गरेको थियो ।
रुपन्देही प्रहरी पक्राउको तयारीमा
कास्की जिल्ला अदालतले रिहाइको आदेश दिना साथ जिल्ला अदालत रुपन्देहीको अनुमतिसँगै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ पुर्जी जारी गरिसकेको छ ।
काठमाडौ जिल्ला प्रहरीले अनुसन्धान गरिरहेकाले काठमाडौँबाटसमेत पक्राउ पुर्जी जारी हुन सक्ने सम्भावना छ ।
यदि कास्की जिल्ला अदालतले अनुसन्धानका लागि समय थप गर्यो भने थपिएको समयमै रविलाई रुपन्देही लैजान सक्ने सम्भावना छ ।
प्रकाशित मिति २०८१ कात्तिक २० गते मंगलबार १०:३०




