पोखरा ।
धर्नामा रहेका नेकपा एमालेका जनप्रतिनिधिले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
महानगरको ३७औं कार्यपालिका बैठकले गरेको निर्णय खारेज गर्न माग राख्दै धर्नामा उत्रिएको एमालेले आइतबार मेयर आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । एमालेले ३७औं कार्यपालिकाको निर्णय खारेजसहित २५औं कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्न र मणिपालको राजस्व छुट सम्बन्धमा गठित समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
यस्तै दरबन्दीभन्दा बाहिरका कर्मचारी तुरुन्त फिर्ता गर्न, महानगरको संगठन तथा व्यवस्थापन सर्वेक्षण तर्जुमा गरी लागु गर्न र फोहोरमैला प्रशोधन केन्द्रको प्रगति प्रतिवेदन सार्वजनिक गर्नसमेत एमालेको माग छ । राजस्वको दर रेट निर्धारण, अनावश्यक राजनीतिक चलखेल, आर्थिक सहायता वितरण र फजुल खर्च नियन्त्रण र दिर्घकालिन योजना, बसपार्क, सभागृह हल, फेवाताल र फिर्के खोलाको मापदण्ड लगायतका योजना तत्काल कार्यान्वयन गर्न एमालेले माग गरेको छ ।
उक्त माग सोमबार साँझसम्म कार्यान्वयन गर्न महानगरलाई एमालेले अल्टिमेटम दिएको छ । उक्त निर्णय कार्यान्वयन नगरे पुनः आन्दोलन जाने पोखरा महानगर–१७ की वडाध्यक्ष एवम् एमाले दलकी नेता राधिका शाही योगीले जानकारी दिइन् ।
मेयर धनराज आचार्यले महानगरमा अहिले देखिएको समस्या राजनीतिक भएको र त्यसलाई राजनीतिक रुपमै छलफल गरेर समाधान निकाल्ने बताए । महानगरपालिका अबको केहि समयमै करारमुक्त हुने उनले दाबी गरे ।
प्रकाशित मिति २०८१ कात्तिक २५ गते आइतबार ०७:२८




