उच्च शिक्षा हासिल गर्न सहर छिरेको करिब सात वर्ष हुँदै गर्दा हरेक पटकको दशैँ तिहार विदामा आफ्नै गाउँ अछाममा जाने अवसर पाएँ । यस पालिको विदा भने मेरा लागि विशेष रह्यो किनकी गाउँलाई गहिरोसँग नियाल्न पाए साथै सानो छदाँ गाउँमा हुर्कदै गर्दाको परिदृश्य र अहिलेको परिदृश्य बिचको भिन्नतालाई केलाउने प्रयास गरेँ ।
केही वर्ष अघिको कुरा मात्र हो मेरो गाउँमा बिजुली पुगेको थिएन । मान्छेहरु उज्यालोको लागि सोलारको प्रयोग गर्दथे । करिब दुई तिन वर्ष यता बिजुली र इन्टरनेटले भने गाउँलाई छोएको मात्र हैन गाउँ नै उज्यालो भएको छ । यसले गर्दा प्रत्येक काममा सहजता ल्याएको छ । इन्टरनेटको बढ्दो प्रयोगले बालकदेखि वृद्ध प्राय सबैले फेसबुकको प्रयोग गर्ने गरेका छन् । जसले देश विदेशमा छरिएका परिवारसँग एकआपसमा सहजै जोडिने अवसर प्राप्त भएको छ । विभिन्न किसिमका अनलाइन पेमेन्टले आर्थिक कारोबारमा एकदमै टेवा पुगेको छ । प्रायजसोले खल्तीमा नगद बोक्न छोडिसकेका रहेछन् । सूचना तथा सञ्चारको लागि उनीहरुले रेडियोको प्रयोग गर्न छोडिसकेका रहेछन् । सानो समयको अन्तरालमा यस किसिमको परिवर्तन हुनु राम्रो कुरा हो । परिवर्तनसँग केही रुपमा विकृति पनि भित्रिएको छ । धेरै जसोमा इन्टरनेटको प्रयोग सम्बन्धि ज्ञान नभएकाले आफ्नो गोपनियतामाथि नै प्रश्न उठेको छ साथै यसको गलत प्रयोगले सामाजिक व्यवस्थामै नकारात्मक असर पर्ने चिन्ता लाग्यो ।
गाउँमा विकासको नाममा सडक पुगेको छ तर, अन्धाधुन्दै सडक बनाउँदा बाढी पहिरोको जोखिम बढ्दो छ । बाढी पहिरोले गर्दा वनजङ्गलको हरियाली पनि विस्तारै हराउँदै गएको छ । सडक छ तर हिड्ने मान्छे छैनन् । धेरै जसोले गाउँ छोडिसकेका छन्, कोहि पढाइको शिलशिलामा त कोही रोजगारको शिलशिलामा । रोजगारको प्रमुख थलो भारत हो तर, विस्तारै अन्य देशमा पनि जान थालेका छन् । अचेल वर्षैभरी गाउँमा युवाको खडेरी जस्तै लाग्छ । जब दशैँतिहार आउँछ तब मात्र अलिकति गाउँलेको चहलपहल बढ्छ । चुनावको बेला रोजगारका नारा लगाउने नेताहरु जितिसकेपछि गाउँलाई फर्केर पनि हेर्दैनन् । रोजगारको लागि विदेशी भुमि मुख्य थलो बन्नु देशको सार्वभौमिकता र स्वाधिनतामा असर पर्नु हो । स्वदेशमा नै नागरिकलाई रोजगारको अवसर दिनु राज्यको मुख्य भुमिका हुन जान्छ ।
म सानो छँदा गाउँमा विवाह, व्रतवन्ध धुमधामसँग गरिएको देखिन्थ्यो । विवाह, व्रतवन्ध जस्ता कार्यक्रममा स्थानिय उत्पादनको मात्र प्रयोग गरिन्थ्यो । विवाहमा दुलाहा घोडामा सवार हुने र दुलहीलाई डोलीमा राखेर घरमा भित्राउने चलन थियो । अहिले भने यस्तो चलन हराएको छ । हरेक मेला पर्वमा स्थानिय बाजागाजाको प्रयोग सँगै हुड्के नाच, देउडा रत्तौली जस्ता खेल खेलिन्थ्यो भने अहिले अनेक प्रकारका पश्चिमी सँस्कृतिले हक जमाइरहेको रहेछन् । भोज भतेरमा बजारमा पाइने प्लाष्टिकका भाँडाको बढ्दो प्रयोग गरिएको देखिन्छ । दिनदिनै विदेशी संस्कृतिले मौलिक संस्कृतिमाथि प्रहार गरिरहनु दुखद पक्ष हो । यसमा सबैको ध्यान जान जरुरी छ । परापुर्वकालदेखि चलिआएको संस्कृतिको प्रयोगमा कमि आउनु भनेको पुर्विय सभ्यता लोप हुने अवस्था सिर्जना भई मौलिक परिचय हराउनु हो ।
गाउँमा पिठोको लागि प्रयोग गरिने पानीघट्ट, जुतारो तथा धान कुट्न प्रयोग गरिने ओखललाई आधुनिक मिलले विस्थापित गर्दै आएको छ । प्राय जसो घर खरले छाएका हुन्थे भने केही पत्थरले तर अहिले भने बजारमा पाइने निलो र सेतो रङ्गका टिनको प्रयोग गरिन्छ । कसैकसैले बजार क्षेत्रमा पक्की घर पनि बनाउने गरेका छन् । विस्तारै मानिस बाहिरी दुनियाँसँग नजिक हँुदै परिवर्तन खोजिरहेका छन् । पहिले परिवारबिच एंचोपैंैचो गरी दैनिकी टार्थे । जसले हुने र नहुने वर्ग विचको खाडल कम देखिन्थ्यो भने अहिले सबै कुरा पैसाले नै चल्ने हुँदा हुने खाने र हुँदा खाने वर्ग विचको खाडल सजिलै देख्न सकिन्छ ।
अहिले गाउँमा स्कुल त छन तर विद्यार्थीको संख्या विस्तारै घट्दो क्रममा छन । केही स्कुल त बन्द हुने अवस्थामा छन् । यसको मूल कारण भने समय सापेक्ष स्कुलमा व्यवहारिक शिक्षाको अभावसँगै स्कुलमा भवन, पुस्तकालयदेखि ट्वाइलेटको उचित व्यवस्थापन नहुनु हो । यदि गाउँलाई साक्षर बनाउन छ भने एउटा सरकारी पुस्तकालय हुनु जरुरी छ तर विडम्बना विद्यार्थीलाई पढ्ने पुस्तकको अभाव हुन्छ । विकासको लागि सबैभन्दा पहिले मानव संशाधनको जरुरत पर्छ । प्राविधिक शिक्षामा सरकारले विशेष जोड दिनुपर्छ साथै सहर केन्द्रित विश्वविद्यालयलाई गाउँ केन्द्रित बनाउन जरुरी छ । जहाँ प्राकृतिक स्रोत साधन प्रशस्त भेटिन्छ ।
गाउँमा समय सापेक्ष रुपमा विकास नभएको सत्य हो । विकासको पहिलो पक्ष भनेको मानसिक र सामाजिक परिवर्तन हो तब मात्र भौतिक परिवर्तन सम्भव छ । आजको अवस्थासम्म एउटी आमाले बच्चा पाउन हस्पिटल जाँदा एम्बुलेन्स नपाएर बाटैमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । शरीरमा चोट लाग्दा उपचारको लागि टाढाको हस्पिटल धाउनु पर्छ । गाउँ गाउँमा सिंहदरबारको नारा केवल नारामा नै सिमित भएको छ । स्थानीय सरकार आएको यतिका वर्ष बित्दा पनि विकासले गति लिन सकेको छैन । यस्ता विविध समस्याले सुहाउँदो मौसममा पनि गाउँले रुप फेर्न पाएको छैन । युवामा अनेक प्रश्न खडा भएका छन् । त्यसलाई सबैले अपनत्व लिएर आफ्नो ठाउँबाट समाजवादी गाउँको नारा लगाउँदै अगाडी बढ्नुपर्छ । समाज विकासको लागि सबैभन्दा पहिले नागरिक सचेत हुन जरुरी हुन्छ । गाउँ सधै गाउँ नै हुन्छ यसलाई सहर बनाउँछु भन्नु केवल जनतामा भ्रम छर्नु बाहेक केही हैन । त्यसैले गाउँको अवस्थालाई उकास्नको लागि गाउँ विकास योजनाको खाका कोर्नु जरुरी छ ।
प्रकाशित मिति २०८१ मंसिर ५ गते बुधबार ०५:४९




