काठमाडाैं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने घोषणा गरेका छन् ।
मंगलवार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बाधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन्। उनले २०८२ सालभित्र सडक मानव र सडक बालबालिकको व्यवस्थापन गर्दै सरकारले अभिभाकत्व दिने बताए ।
उनले सडक बालबालिकाहरुको व्यवस्थापन गर्दै उनीहरुलाई यथोचित आहार र उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । वर्तमान सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको उनकाे दाबी छ । उनले मानवीय वृत्तमा केही समस्याहरु रहेको उल्लेख गर्दै त्यस्ता समस्याहरुलाई शिक्षा र नविनतम प्रविधिहरुको प्रयोग गर्दै समाधान गर्ने बाटोमा सरकार रहेको उल्लेख गरे ।
उनले भने, ‘पहिले पहिले बाढीले बगाएको खण्डमा हेर्ने कुनै सरकार हुन्थ्यो ? कसैले हेर्दैन थियो । बगायो त बगायो । अहिलेको सरकार त अभिभावक जस्तो भएर प्रश्तुत भएको छ । अहिलेको सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार भएको छ । सक्नेले खाउ नसक्ने मर भन्ने होइन । नसक्नेका लागि सरकार छ भन्ने खालको सरकार बनेको छ अहिले । पहिलेको लागि कर उठाउनका लागि मात्र होइन नगरपालिका र महानगरपालिकाहरु सेवा गर्नको लागि बनेका छन् । मानवीय वृतमा समस्याहरु होलान् । त्यसलाई हामी शिक्षा दिक्षाको माध्यमबाट आधुनिकिकरण र उन्नत प्रविधिको माध्यमबाट विकृतिहरुलाई हटाउने र राम्रो कल्चर स्थापना गर्दैछौं । सरकारको काम मुख्य रुपमा साशन होइन सेवा दिने हो । अभिभावकबिहिन बालबालिकाहरु खाते भएर सडकमा हिँड्न सक्दैनन् भनेर हामीले बालिकाबालिकाहरुलाई सडकमा कुकुरसँग सुत्ने र कुकुरको खोसेर खाने हुन दिँदैनौं भनेर हामीले व्यवस्था गर्न थालेका हौं । सडकमा मानव अलपत्र पर्न दिँदैन भनेर हामी जिम्मेवार भएर लाग्यौं ।
अब हामी २०८२ सालभित्र सडकमा बालबालिकाहरुको उद्धार गरेर व्यवस्थापन गरिसक्छौं । २०८२ सालसम्म हामी सडक मानव रहन दिँदैनौं । त्यस अवस्थालाई अन्त्य गर्छौं । बालबालिकाहरुलाई राख्ने र बचाउने मात्र होइन । तिनीहरुलाई यथोचित आहार दिएर उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बन्ने गरेर सरकारले व्यवस्था गर्छ । सबैसँग प्रतिष्पर्धा गर्ने नागरिककै रुपमा अभिभावक बिहिनलाई सरकारले अभिभाकत्व दिएर अगाडि बढाउँछ ।’
प्रकाशित मिति २०८१ पुस २ गते मंगलबार ०४:१०




