२०८३ साउन २१ गते बिहीबार

लोकप्रियतावाद र अराजकतालाई सञ्चार क्षेत्रले प्राथमिकता दिनु हुँदैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

लोकप्रियतावाद र अराजकतालाई सञ्चार क्षेत्रले प्राथमिकता दिनु हुँदैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १० गते बुधबार ०४:१२

वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीहरुका कमजोरीहरु बाहिर ल्याएर सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने जिकिर गरे ।

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताएका छन् ।

बुधवार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिकमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताए ।

उनले पपुलिजम र राजनीतिकमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीहरुका कमजोरीहरु बाहिर ल्याएर सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने जिकिर गरे ।

उनले नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरु रहेको बताए । राजनीतिक अराजकता र लोकप्रियतावादको पछाडी लागेर सञ्चार क्षेत्र अघि बढ्दा मुलुकको लागि दुर्भाग्य हुने उनको भनाइ थियो । उनले पत्रकारीता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको जिकिर गरे ।

उनले भने,‘ पछिल्लो समय राजनीतिकमा अराजकता र पपुलिजम देखापरेको छ । यी दुई कुराले जरा फैलाउँदैछ । अराजकताको एउटा र पपुलिजमको अर्को समूह छ । यी दुवै कुरालाई हामीले ख्याल गर्नुपर्ने छ । राजनीतिक पार्टीहरुका कमजोरीहरु छन् त्यसलाई सञ्चार जगतले देखाउनु पनि पर्छ । सुधारको लागिसकारात्मक दबाब सिर्जना गर्नुपर्छ । सबैले बुझ्नुपर्ने कुरा नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरु छन् । भविष्यको मार्गचित्र बनाएका राजनीतिक पार्टीहरु छन् । मार्गचित्र पूरा गर्नको लागि संगठनात्मक सामथ्र्य र कार्यक्रममा निर्देशित छन् । गौरवशाली इतिहास र भविष्यको मार्गचित्र छैन । मार्गचित्र पूरा गर्ने संगठनात्मक सामथ्र्य र कार्यक्रम छैन । तर पपुलिजमका चिप कुराहरुका आधारमा अघि बढेका छन् । त्यसको पछि लागेर सञ्चार क्षेत्र अघि बढ्यो भने यो दुभाग्र्य हुन्छ । यसमा हामी सबैको ध्यान जान जरुरी छ । राजनीकित अराजकता र पपुलिजमबाट जोगिन जरुरी छ । यसमा हाम्रो ध्यान पुगेन भने मुलुक दुर्भाग्यतर्फ जान्छ । कम्युष्निट र काँग्रेस नेपाली राजनीतिमा मुल भुमिका निर्वाह गर्दै आएका पार्टी हुन् । काँग्रेस र कम्युष्निटको बहुआयामिक सम्बन्ध छ । मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेका छन् । सबै क्रान्तिहरु पूरा गरेका छन् ।’

उनले नेपालमा कम्युनिष्ट र काँग्रेस नेपाली राजनीतिमा मुल भुमिका निर्वाह गर्दै आएका पार्टी भएकाले बहुआयामिक सम्बन्ध रहेको बताए । मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेर सबै क्रान्तिहरु पूरा गरेको उनको दाबी थियो ।

प्रकाशित मिति २०८१ पुस १० गते बुधबार ०४:१२

हजुरको प्रतिक्रिया