काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पाँच वर्ष संसदमात्रै स्थिर रहने नभइ प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताएका हुन् । उनले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताए ।
उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको भन्दै संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने उल्लेख गरे । अब समुन्नतिको सन्दर्भमा मेलमिलाप जरुरी रहेको उनको भनाइ थियो । महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्नेगरी ल्याउनुपर्ने धारणा प्रस्तुत गरे । सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उनको टिप्पणी थियो ।
उनले जन्ममितिले नयाँ राजनीतिक दलहरु नभइ प्रवृत्तिबाट राजनीतिक दलहरु आवश्यक रहेको जिकिर गरे । उनले पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको उल्लेख गरे ।
उनले भने, ‘नयाँ भनिरहँदा जन्ममितिले नयाँ भएर हुँदैन । प्रवृत्तिले नयाँ हो की होइन, प्रवृत्तिको हिसावले नयाँ हो की होइन । त्यसैले अबको मेलमिलाप के हो त ? यही पद्धतिभित्र नविनता के हो त ? अब भन्दा यही पद्धतिभित्र संयमतापूर्वक परिपक्वतापूर्वक राजनैतिक संस्कृतिको विकास हो । यही पद्धतिभित्र पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको यो विषयको गहन अध्ययन गरी पुँजीगत बजेट खर्च गर्नसक्ने बलियो कानून निर्माण गरेर त्योअनुसारको संरचनाको निर्माण । बुटवलदेखि नारायणगढ हे¥यो तीन वर्षमा सक्ने भनेर सात वर्ष लाग्छ । प्रधानमन्त्री केपी शर्मा ओली हुँदै गर्दा शिलान्यास गर्नुभएको बाटो उहाँ अर्को पटक प्रधानमन्त्री भएर भुतपूर्व हुने बिस्तारै दिन आउनति लागिसक्यो अब फेरि पनि बनेको छैन । दक्षिणको मित्रले लिएको हुलाकी मार्ग अलपत्रै छ । दक्षिणसँग दृढतापूर्वक कुरा गर्नुप¥यो । उत्तरले जिम्मा लिएको पोखरा—मुग्लिङको बाटो भन्नुस्, बुटवलदेखि नारायणगढसम्मको बाटो त्यस्तै छ । उनीहरुसँग दृढतापूर्वक कुरा गर्नुप¥यो । आफ्नो राष्ट्रलाई चीनले चमत्कारपूर्वक बनउनसक्ने अनि हाम्रोमा बनाउँदै गर्दा चीनको कम्पनीले लिएको बाटो ढिलो हुनुपर्ने । भारतले लिएको बाटोको जिम्मामा ढिलाइ हुने । राष्ट्रले राष्ट्रिय सम्मानलाई केन्द्रमा राखेर उत्तर र दक्षिणका राष्ट्रसँग गहन छलफल गर्नुपर्छ । यही पद्धतिभित्र काममा गति बढाउनुपर्छ । बजेट बन्ने बेला आउँदैछ, सम्माननीय प्रधानमन्त्रीज्युलाई आग्रह छ, बजेटको नीति ल्याउँदै गर्दा बजेटको नीति र प्राथमिकता चाँडै सरकारले ल्याउँदैछ । तीन सिफ्टमा काम गर्नेगरी सरकारले लिएर आओस् । कमरेड केपी ओलीले यसको श्रेय लिनुस् । धनी देश अमेरिका, बेलायत राति पनि बाटो बनाउँछ, गरिव देश नेपाल सूर्य अस्त नेपाल मस्त ? अलिकति पिएर होस् की नपिएर होस् सबै नेपालमा घुरिरहेका हुन्छौँ । हामीलाई हतार नै नभएको जस्तो । सरकारले नीतिमा काम गर्ने कुरा ल्याउनुप¥यो । अब समुन्नतिको सन्दर्भमा मेलमिलाप हुनुपर्छ । राजनीतिमा भइसक्यो । संसद ५ वर्षसम्म अब कुनै बहादुरले भंग गरेर हुँदैन । हामीलाई ५ वर्ष स्थिर रहने संसद मात्रै होइन, अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो । अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ । संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन ।’
महामन्त्री शर्माले छिमेकी राष्ट्रहरुले जिम्मा लिएका पूर्वाधार निर्माणका कामहरुलाई गति दिन दृढतापूर्वक छलफल गर्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०२:५८




