२०८३ साउन २१ गते बिहीबार

दुई बर्ष भित्रमा लमजुङका सबै घरमा फोजी नेट सूविधा पुर्‍याउँछु : सञ्चारमन्त्री गुरुङ

दुई बर्ष भित्रमा लमजुङका सबै घरमा फोजी नेट सूविधा पुर्‍याउँछु : सञ्चारमन्त्री गुरुङ

विराट न्यौपाने 

@Public 4K Tv

२०८१ पुस १६ गते मंगलबार ०३:१२

मन्त्री गुरुङले फरक प्रसंगमा सहकारीहरुले सर्वसाधारणलाई ठग्ने गरेकोले त्यसको नियन्त्रण गर्न जरुरी रहेको बताए ।

लमजुङ ।

नेपाल सरकारका प्रबक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दुई बर्ष भित्रमा लमजुङका सबै घरमा फोजी नेट सूविधा पु¥याउन आफू लागि परेको बताएका छन् ।

तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिसद सुन्दरबजारद्वारा आयोजना गरिएको संयुक्त ल्होसार कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गुरुङले जिल्लाका सबै वडामा ब्रोडव्याण्ड फाईबर इन्टरनेट सेवा पु¥याउने लक्ष्य रहेको बताएका हुन् । उनले सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको उल्लेख गरे ।

उनले फरक प्रसंगमा सामाजिक सञ्जालका माध्यमबाट भईरहेका अपराध, फिसिङ, बुलिङ जस्ता कुरालाई नियन्त्रण गर्नु सरकारको दायित्व रहेको जिकिर गरे । अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेलाई नियन्त्रण गर्न, साईबर क्राईमको अन्त्य गर्न बनेको साईबर सेक्युरिटी ऐनको तयारी भएको र अध्यायदेश मार्फत भए पनि सो कानून ल्याउने मन्त्री गुरुङको भनाइ थियो ।

मन्त्री गुरुङले फरक प्रसंगमा सहकारीहरुले सर्वसाधारणलाई ठग्ने गरेकोले त्यसको नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले देशका अधिकांश सहकारीमा एउटै व्यक्ति आजीवन अध्यक्ष रहने र रकमको हिनामिना भइरहेको अवस्थामा बढीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने गरी नियमन गर्ने बताए ।

सहकारीहरु कुन स्तरका हुन सोही अनुसार स्थानीय तह वा प्रदेशमा दर्ता हुने व्यवस्था मिलाउने बताए । अहिले तत्काल सहकारीको गठीमा परेका जनताको रकम फिर्ता गर्न सहकारी सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यायदेश संसदबाट पास गरेर राष्ट्रपतिलाई बुझाएकोमा हिजो प्रमाणिकरण भएको समेत जानकारी दिए । सबैभन्दा पहिला सानो रकम फिर्ता गर्ने र क्रमश अन्य रकम फिर्ता गराउने तर्फ सरकार लाग्ने बताए ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका मन्त्री गुरुङले गुरुङ भाषामा मन्तव्य व्यक्त गर्दै संविधानमा नेपाली भाषाको अतिरिक्त अन्य भाषा पनि सरकारी कामकाजको भाषा हुने उल्लेख गरेको छ, तर संविधानले दिएको अधिकार पनि उपयोग गर्न नसकेको बताए । यसैगरी केहि शक्तिहरु संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर पूरानै व्यवस्था ल्याउन लागिपरेको भन्दै मूलधारका पार्टी जो संघीय गणतन्त्र प्राप्तिका लागि बलिदानीपूर्ण आन्दोलन गरेर यो व्यवस्था ल्याए तिनैलाई यो व्यवस्थाको माया र रक्षा गर्ने दायित्व पनि भएको बताए ।

समुता तमु समाज, सुन्दरबजार तमु समाज, सृजनशील तमु समाज, संकल्प तमु समाज, नमूना तमु समाज, त्रिशक्ति तमु समाज, प्रगति तमु समाज र मनकामना तमु समाजको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सुन्दरबजारका विभिन्न स्थानबाट तमु संस्कृतिका झाँकी बाजागाजा सहितको ¥यालीले बजार परिक्रमा गरी कृषि क्याम्पस प्राङ्गणमा पुगी कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा विभिन्न समाज र समुहको सांस्कृतिक कार्यक्रम सोरठी, घाटु, कृष्ण चरित्र, कौरा, ठाडोभाका लगायतका नृत्य प्रस्तुत गरिएको थियो ।

कायक्रममा क्होलासोँथर गाउँपालिका निवर्तमान उपाध्यक्ष मुनि गुरुङ, तमु ह्युल छोँज धिँका केन्द्रीय उपाध्यक्ष मेन बहादुर घले, तमु छोँज धिँका जिल्ला अध्यक्ष गणेश गुरुङ, जीवराज घले, झाँकी संयोजक मोति प्रसाद गुरुङ, समुता गुम्बा अध्यक्ष वीरसिंह घले सबै समाजका अध्यक्ष, आमा समुह अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो । महिलाको तर्फबाट सावित्री गुरुङले शुभकामना मन्तव्य राखेकी थिइन भने चन्द्रकुमारी गुरुङले स्वागत गरेकी थिइन् ।

सुन्दरबजार तमु समाजका अध्यक्ष मीन बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव खेम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०३:१२
हजुरको प्रतिक्रिया