काठमाडौं ।
शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माईतीघर मण्डलामा उभिएर बिरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गरेकी छन् ।
सोमवार शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्र सुधारका लागि सरकारलाई दबाब दिन उभिँदै आउनुभएका चापागाईंसँग भेट गरेकी हुन् । ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे मागसहित उनले प्रदर्शन गरिरहेका छन् ।
माईतीघरमा पुगेर उनलाई भेटेसँगै शिक्षामन्त्री भट्टराईले आफू चालु आर्थिक वर्षको बजेट बनाइसकेपछि आएकाले आफ्नो योजना बजेटमा राख्न नसकेको बताउँदै यस वर्ष आवश्यक नरहेको कार्यक्रमलाई विपद्मा लैजान सकिने भएकाले प्रस्ताव अर्थ मन्त्रालयमा लगेको बताइन् । उनले ईसीडीको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाइ काम गरिरहेको जानकारी दिइन् ।
दरबन्दीबारे पुनरावलोकन भइरहेको उनको भनाइ थियो । पालिकाको शिक्षा योजना र शिक्षा कोर्ष बिना सांसदहरु नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको उनले जिरिक गरिन् । हरेक पालिकासँग शिक्षा योजना र शिक्षा कोर्ष हुनुपर्ने उनको तर्क थियो ।
गत जेठमा उनी काठमाडौंको माईतीघरमै १९ दिनसम्म उभिएर आन्दोलन गरेका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वान दिएकी थिइन् ।
तर माग सम्बोधन नभएपछि उनले फेरि उभिएर आन्दोलन थालेका हुन् । उनलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमिति सभापति अम्मरबहादुर थापाले समेत भेट गरेका छन् ।
प्रकाशित मिति २०८१ पुस २२ गते सोमबार ०३:३१




