काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको दाबी गरेका छन् ।
मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको बताए ।
उनले केही समय पहिलासम्म धेरै मन पराउने खेलमा फुटबल रहे पनि अहिले क्रिकेटले पनि त्यत्तिकै माहोल बनाइरहेको उल्लेख गरे । नेपालले आगामी दिनमा ठूला सफलताहरु प्राप्त गर्दै जानुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने ‘महिला फुटबल नेपालमा धेरै पुरानो खेल होइन । मान्छेले सबैभन्दा धेरै मन पराउने खेल फुटबल थियो । अब बिस्तारै क्रिकेट र फुटबलको एक खालको कम्पिटिशन नै छ । फुटबल पनि मानिसहरुले औधि मन पराउने र खेल्ने गर्दछन् । क्रिकेट पनि अत्यन्त मन पराइरहेका छन्, नयाँ पिढीले । यसमा तपाईंहको उन्नति प्रगति हुँदै जाओस् । आगामी दिनमा ठूला ठूला सफलताहरु प्राप्त हुँदै जाउन् ।’
प्रधानमन्त्री ओलीले खेलमा प्रशिक्षकहरुको प्रशिक्षणको महत्व धेरै हुने उल्लेख गरे । कमजोरी पत्ता लगाएर सच्याउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ । आफ्ना खेलाडीहरुको खेलको उत्कृष्टता र कमजोरीको पहिचान गरी सुधार गर्दै जानुपर्ने उनले जिकिर गरे ।
प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार १२:५२




