संविधान संशोधन नभई कार्यान्वयनमा जोड दिनुपर्ने माओवादीको निष्कर्ष
काठमाडौं ।
नेकपा(माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको छ ।
मंगलबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उनको भनाइ छ ।
बैठकले जनतासँग माओवादी अभियान समाजवादका लागि एउटा कोशेढुंगा सावित हुने विश्वास लिएको उनले बताए ।
उनले संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भिर छलफल भएको उल्लेख गर्दै संविधान संशोधनभन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा रहको उल्लेख गरे
संविधान संशोधन गर्नैपरेमा अग्रगमन, परिवर्तनको र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको दिइएको सापकोटाको भनाइ छ ।
माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासंग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
चैतभरि तयारी गरेर वैशाख महिनाभर हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासंग माओवादी अभियान सञ्चालन गर्ने बताइएको छ ।
बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रश्ताव पारित गरेको छ ।
सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रिय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने प्रवक्ता सापकोटाले बताए ।
प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०९:२१




