काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन् ।
मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको बताएका हुन् ।
उनले पुस २७ गते निर्माण व्यवसायीको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्ने योजना रहेको उल्लेख गरे । भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरु रहने उनले जानकारी दिए । भेलाको विषयमा सरकारका सबै निकायलाई जानकारी दिएको अध्यक्ष सिंहको भनाइ थियो ।
उनले भने,‘वर्तमान परिवेशमा निर्माण क्षेत्र अत्यन्तै सकसमा छ । पौष २६ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्नेछौँ । यो भेला निर्माण क्षेत्रको समस्या समाधानको लागि आन्दोलनको रुपमा लैजान पनि सकिन्छ । ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरुसहित भेला हुने छ । आन्दोलित भएर सडकमा जानुपर्ने अवस्था आएको छ । सरकारका सबै निकायहरु सबैलाई जानकारी दिएका छौँ । सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर कालोबजारी गरेर ५ सय रुपैयाँ रहेको सिमेन्टको मूल्य आज ७७० रुपैयाँसम्म पु¥याएको छ । त्यो विषयमा पनि आन्दोलित भएका छौं ।’
उनले सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर मूल्यमा गरेको कालोबजारीले थप मारमा परेको जिकिर गरे । सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य ५ सयबाट ७७० रुपैयाँसम्म पु¥याएको अध्यक्ष सिंहको तर्क थियो ।
प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०४:१४




