काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेको छन् ।
शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले नेपाली काँग्रेस र एमालले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्नसक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले विगतमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको उल्लेख गरे । उनले यस पटक काँग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै तीन वर्ष भनेको सानो समय नभएकाले नेपाली नागरिकले बेनिफिट पाउनुपर्ने जिकिर गरे ।
विगतमा २०४८ सालमा संविधान, २०७० मा संविधान पाएको उदाहरण दिँदै अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्ने महामन्त्री थापाको भनाइ छ । उनले सुधार भए मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहने जिरिक गरे । महामन्त्री थापाले केही जनता र उद्योगी व्यवसायीको लागि भनेर वर्तमान सत्ता समिकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेको उल्लेख गरे । सरकारले निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गर्ने प्रयास गरिरहेको उनले दाबी गरे ।
उनले भने, ‘नेपाली काँग्रेस र एमालले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ । त्यो विगतमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ । यो पटक काँग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ । तीन वर्ष भनेको सानो समय होइन । तीन वर्ष ठूला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले बेनिफिट पाउनुपर्छ । पहिला पनि पाएको थियो । २०४८ सालमा संविधान पायो । २०७० मा संविधान पायो । अहिले के पाउने हो । अहिले केही पाउनुपर्दैन सबै कुरा सम्हाल्छौं । अहिलेसबै भन्दा बढी बिग्रेको अर्थतन्त्र हो । अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्छ । अनि मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहन्छ । नत्र सरकार पहिला पनि थिए चलेकै थियो । वर्तमान सत्ता समिकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेका छौं । निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गरौं भन्ने हो । धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ ।’
महामन्त्री थापाले नेपाल उत्पादन जुत्ता ५० लाख जोर जुनसुकै अवस्थामा पनि निर्यात हुनसक्ने अवस्था रहेको भन्दै नेपाली उत्पादनले नेपालभित्र बजार पाउने सम्भावना ठूलो रहेको दाबी गरे । उनले सम्भावनाको ठूलो क्षेत्र भएकाले सरकारले यो क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नु जरुरी रहेको जिकिर गरेका छन् ।
प्रकाशित मिति २०८१ पुस २७ गते शनिबार ०१:३४




